भर्खरै

महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु

  • प्रकाशित मिति : बुध, बैशाख २७, २०८०
  • - विद्युत संसार
title

काठमाडौं, २७ वैशाख । काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो ।
 
महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौँ महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । 
 
त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो । आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान) ले जनाएको छ । सहमतिअनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ ।

प्रतिक्रिया