भर्खरै

विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’

  • प्रकाशित मिति : शुक्र, फागुन २६, २०७९
  • - रासस
title

सप्तरी, २६ फागुन । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ । 
 
विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सात जनालाई नियन्त्रणमा लिएको छ ।
 
डाक्नेश्वरी नगरपालिका–३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरु हुरियाका गणेशकुमार यादव, विष्णुशर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । यसअघि यही फागुन १९ गते अनाधिकृतरूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका–२ सिम्राहाका सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो । शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ । विद्युत्् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो । चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ ।
 
विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ । शाखाले गरेको सर्च अपरेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन् ।

प्रतिक्रिया