सुपरदोर्दी ‘ख’ को बिजुली चैतदेखि उत्पादन हुने
- प्रकाशित मिति : बुध, फागुन १०, २०७९
- - विद्युत संसार साप्ताहिक
काठमाडौं, फागुन । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ आयोजनाबाट आगामी चैतदेखि बिजुली उत्पादन हुने भएको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको यस आयोजनाबाट आगामी चैतदेखि विद्युत उत्पादन हुने भएको हो ।
अहिले आयोजनाको सुरुङलगायत अन्य संरचनाको परीक्षण भइरहेकोले परीक्षण सकिएलगतै विद्युत परीक्षण उत्पादन सुरु गर्ने कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायामाझीले बताउनुभयो । हाल आयोजनाको बाँध र डिसेन्टरमा पानी भर्ने काम भइरहेको छ ।
आयोजनामा सानिमा बैंक सहित सात बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा बैंकको ५ अर्ब ८० करोड ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको लगानी रहेको छ । आयोजना प्रभावित क्षेत्रका लम्जुङबासीको २७ करोड रुपैयाँ लगानी छ ।
आयोजनाको ५.१ किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १०.३५ किलोमिटर लामो सुरुङ छ । आयोजना बनाउन ८ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमानित लागत बढेर १० अर्ब ५० करोड पुगेको अनुमान छ । भूकम्प, नाकाबन्दी, दोर्दीखोलामा आएको बाढी र कोरोना महामारीले आयोजनाको समय लम्बिएपछि लागत बढेको कम्पनीले जनाएको छ ।
आयोजना यसअघि ४९.६ मेगावाटमा आयोजनाको डिजाइन गरिएको थियो । पछि क्षमता बढाएर ५४ मेगावाट पु¥याइएको हो । आयोजनाको हेड ६ सय २५ मिटर छ । धेरै हेड भएका कारण आयोजनाबाट बढी बिजुली उत्पादन हुने भएको हो ।
आयोजनाबाट २०७५ भित्रै व्यावसायिक बिजुली उत्पादन मिति रहेकामा भूकम्प, बाढी र कोरोना महामारीले आयोजना पछाडि धकेलिएको कम्पनीले जनाएको छ । आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पिपिए गरेको छ । नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ३१ करोड ४९ लाख ८३ हजार युनिट बिजुली उत्पादन हुनेछ । बर्खामा २६ करोड १९ लाख र सुक्खायाममा ५ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।