भर्खरै

इङ्वाखोला जलविद्युत् आयोजनाले आगामी जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने

  • प्रकाशित मिति : मंगल, माघ १७, २०७९
  • - विद्युत संसार साप्ताहिक
title

पाँचथर, माघ । पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन ९.७ मेगावाट क्षमताको इङ्वाखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गर्ने गरी काम भइरहेको छ । 
 
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) बमोजिम उक्त आयोजनाले आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजना बनाएको हो । 
 
निर्माणाधीन यस आयोजनाबाट आगामी बैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ । 
प्राधिकरणसँगको विद्युत् खरिद सम्झौता (पिपिए) बमोजिम जेठ १ गतेभित्र उत्पादन थाल्न आयोजनाको निर्माण कार्यलाई द्रूत बनाइएको छ । हालसम्म आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको आयोजना प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो । यस आयोजनाले हिँउदको समयमा भने कूल क्षमताको करिब ३० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्नेछ । 
पाँचथर र ताप्लेजुङको सीमा भई बग्ने इङ्वाखोला (इन्द्रावती)मा आयोजना निर्माणाधीन छ । इङ्वाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६३ मा अनुमति दिएको थियो । २०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो । 
यहाँ उत्पादित विद्युत् काबेली कोरिडोर विद्युत् प्रसारण लाइनको पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 
 
आयोजनाको बाँध (हेडबक्स) पाँचथरको याङवरक गाउँपालिका–२ सेरेजामा  छ । आयोजनामा सुरुङमार्ग छैन । ४.४० किलोमिटर फलामे ‘हेडरेस’ पाइपलाइन र दुई सय ७८ मिटर ‘सर्ज’ पाइपमार्फत खोलाको पानी याङवरक–३ ओयामको आँपडाँडामा रहेको पावरहाउससम्म ल्याउन लागिएको हो । बाँध र पावरहाउसबीचको उचाइ १८१.२५ मिटर रहेको आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभयो । 
 
फलामको मूल्य बढेका कारण आयोजनाको लागत सुरुङमार्गको जस्तै बनेको प्रवद्र्धकको भनाइ छ । रु एक अर्ब ९५ करोडको लागतमा निर्माण हुन लागेको आयोजनामा प्रवद्र्धकको ३० प्रतिशत लगानी छ । बाँकी ७० प्रतिशत लगानी बैङ्क अफ काठमाण्डू (मर्जरपछि हाल ग्लोबल आइएमई बैङ्क)को छ । 

प्रतिक्रिया