भर्खरै

भारतबाट आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

  • प्रकाशित मिति : सोम, माघ २, २०७९
  • - विद्युत संसार
title

काठमाडौं, माघ । भारतबाट इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । आइओसीले  हरेक १५/१५ दिनमा पठाउने मूल्यसूची पठाएको हो । 
 
आइओसीले पठाएको मूल्य  अनुसार पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २.५१ रुपैयाँले बढेर आएको छ भने डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ ।
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ । यस्तै नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको निगमले जनाएको छ । 
 
यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो । यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो । भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले उच्च नाफा राखेर उपभोक्ताहरुलाई महँगोमा पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै सरकारको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
 
मूल्य घटाएपछि अहिले पेट्रोल प्रतिलिटर १७५ र डिजल १७२ रुपैयाँमा बिक्री भइरहेको छ । निगमले राष्ट्र बैंक र आइओसीलाई अझै १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको जनाएको  छ ।
 
यसपटक घटबढ भएर आएको नयाँ मूल्यले निगमलाई कति नाफा हुन्छ भन्ने विषय  मंगलबार यकिन हुने निगमले जनाएको छ । डिजलको मूल्य घटेर आएकाले निगमलाई भाउ घटाउन दबाब परेको छ ।

प्रतिक्रिया