भर्खरै

दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढ्यो

  • प्रकाशित मिति : बुध, पौष १३, २०७९
  • - रासस
title

दोधारा चाँदनी, १३ पुस । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छ । अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणस्थलका लागि  रुख छपानको काम सुरु भएको नगरप्रमुख भोजराज बोहराले बताउनुभयो ।
 
 “प्रस्तावित औद्योगिक क्षेत्र निमार्णस्थलका लागि  २५ हजार रुख छपानको काम सुरु भएको छ ।” उहाँले भन्नुभयो,“रुख छपान सकिएपछि निर्माणअघि बढ्छ यसका लागि सरकारले रु एक अर्ब बजेट विनियोजन गरिसकेको छ ।” औद्योगिक क्षेत्रको दुई वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । 
 
रुख छपानको काम सुरु भए पनि जग्गाको स्वामित्व हस्तान्तरण हुन बाँकी रहेको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । 
“वन कार्यालयबाट रुख छपानको काम सुरु भएको छ । जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रियामै छ ।” लिमिटेडका सूचना अधिकारी प्रकाश खड्काले भन्नुभयो,“बजेट अपुग र ईआईलगायतको कामले निमार्णमा ढिलाइ भएको हो ।” उहाँले झन्झटिलो प्रक्रिया र सरकारको प्राथमिकतामा नपर्नुले पनि औद्योगिक क्षेत्र निमार्णको कामले गति लिन नसकेको बताउनुभयो । 
 
औद्योगिक क्षेत्र स्थापनाका लागि वडानं–२ स्थित जनचेतना सामुदायिक वन र वडा–३ स्थित वेदकोट सामुदायिक वनको नौ सय बिघा जमिन उपलब्ध गराउने घोषणा गरिएको थियो । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले दैजीछेला औद्योगिक क्षेत्रको चर्चा धेरै भएकाले अब स्थापनामा ढिलाइ गर्न नहुने बताउनुभयो । “महाकाली नदीमा बनेका चार लेनको पक्की पुल भारतको एसियन राजमार्गसँग जोडिए मात्रै औद्योगिक क्षेत्रले सार्थकता पाउँछ ।” उहाँले भन्नुभयो–“औद्योगिक क्षेत्र र नाका  भारतसँग जोड्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ ।”
 
औद्योगिक क्षेत्रका लागि २०६६ सालमा जिल्ला वन कार्यालयले जग्गा उपलब्ध गराउने निर्णय गरेपछि जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको नौ सय बिघा जमिन दिने निर्णय भएको थियो । मन्त्रिपरिषदले पनि चार किल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ । डिपिआर र र्ईआइएको कामसमेत सम्पन्न भइसकेको छ । दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इञ्जिनीयरिङ र फेव्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायत एक सय उद्योग स्थापना गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्र स्थापना भए यहाँका दुई हजार बढीले रोजगारी पाउने छन् ।

प्रतिक्रिया