भर्खरै

डिपट्युवेलका ट्रान्सफर्मर चोरी

  • प्रकाशित मिति : बिही, मंसिर २९, २०७९
  • - रासस
title

बारा, २९ मङ्सिर । बारा र पर्सा जिल्लामा  भूमिगत सिँचाइका लागि विभिन्न स्थानमा जडान भएका  डिपट्युवेलबाट ट्रान्सफर्मर चोरी भएको पाइएको छ ।
 
ट्रान्सफर्मर चोरीका कारण दुवै जिल्लामा भूमिगत  सिँचाइको काम प्रभावित भएको भूमिगत जलस्रोत तथा  सिँचाइ विकास डिभिजनको कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । मधेश प्रदेश सरकारको मातहतमा रहेको कार्यालयका अनुसार पर्सा जिल्लामा तीन वटा र बारा जिल्लामा तीन वटा ट्रान्सफर्मर चोरी भएका छन् । 
 
चोरी भएका ट्रान्सफर्मरबारे पर्सा र बाराका प्रहरी  प्रशासनलाई जानकारी दिएको कार्यालय प्रमुख  अरविन्दकुमार मिश्राले जानकारी दिनुभयो । चोरी भएका छ वटा  ट्रान्सफर्मरको मूल्य रु ३० लाख रहेको उहाँको भनाइ छ । 
 
कार्यालयका अनुसार  पर्साको  वीरगञ्ज  महानगरपालिका वडा नं २८ र ३१, कोन्दियाको वडा नं ३२ को सोलखपुर र बारा जिल्लाको पर्सोनी गाउँपालिका वडा नं ७ प्रस्टोका, महागढी माई नगरपालिकाको  तेलकूवा र हर्नेया नजिक इनर्वामालमा जडान भएका डिपट्यूवेलबाट ट्रान्सफर्मर चोरी भएको प्रमुख मिश्राले जानकारी दिनुभयो । उहाँका अनुसार विगत दुई महिनाको अवधिमा ६ वटै ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर चोरी भएपछि किसान समस्यामा परेको मिश्राको भनाइ छ । 
 
पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले चोरी भएको ट्रान्सफर्मर विषयमा छानबिन तथा पत्ता लगाउनका लागि सम्बन्धित प्रहरी चौकीमा निर्देशन दिइएको बताउनुभयो । 
 
ट्रान्सफर्मरभित्र रु ५० हजार पर्ने तेल र रु चार लाखभन्दा बढी मूल्य पर्ने तामाको तार जडान गरिएको हुन्छ ।

प्रतिक्रिया