भर्खरै

फिन इलेक्ट्रो टेक–२०२२ सम्पन्न, लक्ष्यभन्दा बढीले मेला अवलोकन गरेको महासंघको दावी

  • प्रकाशित मिति : सोम, मंसिर २६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २६ मंसिर । विद्युतीय सामग्रीहरुको अन्तराष्ट्रिय स्तरकाृ बृहत् प्रदर्शनी फिन इलेक्ट्रो टेक–२०२२ सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि २५ गते आइतबार सम्म काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको मेलामा करिव ७० हजारले अवलोकन गरेको महासंघले जनाएको छ । महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको जनाएको छ ।
 
 प्रदर्शनीका क्रममा विभिन्न कम्पनी र ब्रान्डका उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिएको थियो । एप्पल ग्रुपको विनय स्वीचले प्रथम स्थान हासिल गरेको थियो भने एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक दोस्रो र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिजको ग्रेट व्हाइट तेस्रो भएका थिए । मेलाका क्रममा फिनका पूर्व अध्यक्ष एवं इलेक्ट्रो टेक–२०१२ का संयोजक रामबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो ।
 
 
मेलामा दर्शक तथा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिताका कारण अन्तराष्ट्रिय कम्पनीका प्रतिनिधिहरु पनि उत्साहित देखिएको र मेला उत्साहपूर्वक सफल भएको नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) का अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले जानकारी दिनुभयो । आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन मेला सार्थक भएको अध्यक्ष पौड्यालको टिप्पणी छ । विश्वभर व्याप्त आर्थिक मन्दीका बावजुद मेला अपेक्षा गरिएभन्दा बढी सफल भएको नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कोमल पोखरेलले बताउनु भएकोछ । 
 
 
मेलाको तेस्रो र चौथो दिन विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात सिम्पोजियम पनि आयोजना गरिएको थियो । चौथो तथा अन्तिम दिन विद्युतीय सुरक्षा सम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । यसमा चट्याङ अर्थात लाईटनिङ एरेष्टर र इलेक्ट्रिसिटी लिकेजबाट हुने क्षति न्यूनीकरणबारे प्राध्यापक डा श्रीराम शर्माले प्रस्तुति दिनुभएको थियो । प्रदर्शनीमा विद्युत प्रविधि क्षेत्रका विज्ञ तथा प्राविधिकहरुको उपस्थिति बढी थियो । मेलाको तेस्रो र चौथो दिन देशभरका विद्युतीय सामग्री व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, सप्लायर्सबीच अन्तर्क्रिरया एवं व्यापारिक सम्झौताहरु पनि भएका थिए । 
 
 
विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो टेक–२०२२ मा स्मार्ट होम्स, चट्याङ प्रतिरोधी उपकरण, प्यानासोनिक ब्राण्डको टच द फ्युचर,सेन्सरयुक्त सीसीटीभी क्यामेरा, अत्याधुनिक ग्यास चुलो, कम्पोष्टिङ मेसिन, फायर प्रुफ एल्लो पाइप विशेष रुचीका उत्पादन रहेका थिए । त्यसैगरी ओके जर्नीको वाइफाइ डिभाइस, अत्याधुनिक एलइडी लाइट, र सेनेटरी प्याड भेण्डिङ मेसिन मुख्य आकर्षण रहेको अवलोकनकर्ताको प्रतिक्रिया रहेको छ ।
 
चार वर्षपछि भएको प्रदर्शनीमा इलेक्ट्रोटेकमा नेपाल र नेपाल बाहिरका ब्राण्डहरु सहभागी भएका थिए । नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरणहरु राखिएका थिए । फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्री समेत मेलाका आकर्षण थिए ।
 
 
 मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको थियो । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका थिए ।

प्रतिक्रिया