भर्खरै

नयाँ सरकार र जनताका अपेक्षा

  • प्रकाशित मिति : बुध, मंसिर १४, २०७९
  • - विद्युत संसार
title

काठमाडौं मंसिर । मंसिर ४ गते आइतबार देशैभर एकैचरणमा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम प्रायः आइरहेको छ । विगतका आमनिर्वाचनका तुलनामा यस पटकको आमनिर्वाचनमा केही कम प्रतिशत मतदान भएको पाइएको छ । झन्डै एक करोड ८० लाख मतदाता रहेकामा यस पटकको प्रारम्भिक अनुमानअनुसार एक करोड नौ लाख मतदाताले मात्र मताधिकारको सदुपयोग गरेका छन् । यो विगतका आमनिर्वाचनका दाँजोमा कमै हो । केही छिटफुट घटनाबाहेक तुलनात्मक रूपमा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । 
 
जनादेश अनुसार मुलुकमा लोकतान्त्रिक तवरले सरकार निर्माणको प्रक्रिया थालनी हुनेछ । आइतबार सम्पन्न निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । यसैगरी प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट ५३० जना प्रदेश सभाका सदस्य चुनिनेछन् । मुलुकले आगामी पाँच वर्षका लागि जनप्रतिनिधि प्राप्त गरेको छ । जनप्रतिनिधिले विधायिकी कार्यसम्पादनका साथै सबल, सुदृढ सरकार निर्माणको जिम्मेवारी समेत लिनुपर्नेछ । 
 
लोकतान्त्रिक तवरले निर्वाचन प्रक्रिया अगाडि बढाइँदा मतदाता समक्ष अनेकौँ वाचा गरिएको छ । यस अवस्थामा मुलुक तथा मुलुकवासीको विकास, समृद्धि नै मुख्य विषय हो । जुनसुकै सिद्धान्त बोकेका राजनीतिक दलहरू भए पनि उनीहरूले मुलुक र मुलुकवासीको सर्वोपरी हित नै हुनुपर्छ । यस पटकको आमनिर्वाचनका मतदाताको मतदान गर्ने तौरतरिकामा केही भिन्नता आएको अनुभव सबैले गरेकै हुन् । नेपालमा पुराना पार्टीका स्थापित नेताहरुलाई ओझेलमा पार्दे नयाँ जनप्रतिनिधि चुनेका छन् । यसको उदाहारण राष्ट्रिय स्वतन्त्र पार्टी हो जसले पार्टी स्थापना गरेको छोटो समयमा नै राष्ट्रिय पार्टी बनेको छ ।  उल्लेख्य प्रतिनिधि सभामा सांसदहरु चुनिएका छन् । अब उनिहरुले आफ्नो उदयको कारणलाई शिरोधार्य गरेर अरूले गरेको गल्ती कमजोरी हेरेरै अग्रगामी कदम चाल्नु आवश्यक छ ।
 
निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । तर मत परिणामको हेर्दा यो पटक पनि सत्तासमिकरण रोचक हुने देखिएको छ । कुनै पनि दलहरुको बहुमत नहुँदा सरकार निर्माण गर्नका लागि तीन दलसम्म मिल्नुपर्ने बाध्यता छ । यसले निर्वाचनमा विजयी हुने राजनीतिक दलहरूले विगतमा देखिएजस्तो सत्ताका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई त्यागेर मुलुक र जनताका लागि विशेष भुमिका निर्वाह गर्न आवश्यक छ ।

प्रतिक्रिया