भर्खरै

दिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

  • प्रकाशित मिति : आइत, साउन १५, २०७९
  • - रासस
title

खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार  एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा रु ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ लाख ८१ हजार चार सय ८५ खर्च गरेको पाइएको हो ।
 
यस्तै मेसिनरी औजार मर्मत खर्चतर्फ रु छ लाख ८३ हजार ७०७ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सवारीसाधनको मर्मत तथा सम्भार खर्चसम्बन्धी अभिलेख राख्न मलेप फारम नं ४१५ प्रयोग गर्नुपर्नेमा उक्त फारम प्रयोग नगरिएकाले कुन सवारीसाधन मर्मतमा कति खर्च भएको विवरण प्राप्त नभएको जनाइएको छ ।
 
सवारीसाधन मर्मतका लागि स्वीकृत मर्मत आदेशानुसारमात्र मर्मत गराइ सोको आधारमा सम्बन्धित फार्मलाई बिल भुक्तानी तथा खर्च लेख्नुपर्नेमा सो विपरीत मर्मत आदेश बेगर कर्मचारी तथा पदाधिकारीलाई बिलका आधारमा मर्मत खर्च भुक्तानी गरेको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाले मर्मत खर्चतर्फ तोकिएको ढाँचा फारम प्रयोग गरी आन्तरिक नियन्त्रण प्रभावकारी बनाउनुका साथै खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखा औँल्याएको छ ।
 
यस्तै सवारीसाधनको इन्धन खर्च लेख्दा लग सिट संलग्न गरेर मात्र भुक्तानी दिनुपर्नेमा सो अनुसार नभएको महालेखाले जनाएको छ । पालिकामा प्रयोग हुने हलुका तथा हेभी सवारीसाधनको इन्धन खर्चको अभिलेख नराखेको, सवारीसाधनको किसिम तथा कोटा तोकी सोअनुसार इन्धनको भुक्तानी दिनुपर्नेमा सो विपरीत कर्मचारी तथा पदाधिकारीले पेश गरेको बिलका आधारमा भुक्तानी दिएको पाइएको जनाइएको छ । 
 
नगरपालिकाबाट विविध खर्चतर्फ रु ३२ लाख ८५ हजार सात सय ८४ खर्च भएकामा अधिकांश खर्च कर्मचारी तथा पदाधिकारीको खाजा, खाना र चियामा भएको पाइएको छ । विविध खर्चतर्फ भएको अधिकांश खर्चमा कार्यक्रम र प्रयोजन खुलाइएको छैन । 
 
नगरपालिकाले विविध खर्चतर्फ आन्तरिक नियन्त्रण कायम गर्न आवश्यक देखिएको महालेखाले जनाएको छ । बगरेभञ्ज्याङ भ्युटावरसहितको वाटरपार्क निर्माणमा नगरपालिकाकोतर्फबाट व्यहोर्नुपर्ने रु १४ लाख ८५ हजार आठ सय ५८ समेत प्रदेश समपूरकबाट व्यहोरेको देखिएकाले प्रदेश समपूरकको घटी फिर्ता देखिएकाले पालिकाको अङ्शको प्रदेश समपूरकबाट भएको रकम प्रदेश सञ्चित कोषमा फिर्ता हुनुपर्ने भनिएको छ ।
 
लागत सहभागिता गोश्वारा भौचर नं ३०३, २०७८ असार २४ गते मालाली बहुउद्धेश्यीय कृषक समूहलाई तरकारी उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालनार्थ रु २२ लाख स्वीकृत भएको, त्यसमध्ये रु नौ लाख नगरपालिकाबाट दिने सम्झौता भएकोमा उक्त समूहले पेश गरेको बिल भरपाई अनुसार रु १८ लाखको मात्र काम भएकाले रु सात लाख ३६ हजार दुई सय भुक्तानी गर्नुपर्नेमा रु नौ लाख भुक्तानी दिइएकाले बढी भुक्तानी भएको रु एक लाख ६३ हजार आठ सय असुल गर्न भनिएको छ ।
 
विसं २०७८ असार २७ मा बुइपास्थित उर्लेनी धिवा–कट्टी खानेपानी उपभोक्ता समितिलाई रु ११ लाख ८६ हजार चार सय भुक्तानी गरेकामा समितिले २०७८ वैशाख ७ मा रु तीन लाख १५ हजार पेश्की लिइ कार्य गरेकामा उक्त पेश्की रकम कट्टा नगरी रकम भुक्तानी भएकाले पेश्की रकम असुल गरी केन्द्रीय राजस्व खातामा दाखिला गर्नुपर्ने उल्लेख छ । 
 
यस्तै आव २०७७÷७८ मा सामाजिक सुरक्षा भत्ताको प्रथम किस्ता वितरणका क्रममा लाभग्राहीको लगत अद्यावधिक नगरी भुक्तानी दिइएको रु एक लाख नौ हजार छ सय असुल गर्नुपर्ने औँल्याइएको छ । नमूना छनोट गरी परीक्षण गर्दा एकै चौमासिकमा दोहोरो गरेर तीन भत्ता बुझेको, मृत्यु भइसकेको, दोहोरो नाम र नागरिकता भएको लाभग्राहीलाई रकम भुक्तान गएको पाइएको महालेखाले जनाएको छ । नगरपालिकाले सो आर्थिक वर्ष भ्रमण तथा अनुगमन मूल्याङ्कन खर्चतर्फ रु ५४ लाख १८ हजार तीन सय ६५ खर्च गरेको छ । तर भ्रमण अभिलेख अद्यावधिक नराखेको, भ्रमण आदेशमा नम्बर नराखेको, अधिकांश भ्रमण तथा अनुगमन प्रतिवेदन संलग्न नगरी भुक्तानी दिइएको पाइएको छ ।
 
नगरपालिकाले भ्रमण तथा अनुगमनसम्बन्धी अभिलेख व्यवस्थित तथा अद्यावधिक नराखेकाले भ्रमण तथा अनुगमन खर्च उद्देश्यअनुरुप तथा मितव्यायी तरिकाले भएको भन्न सकिने अवस्था नरहेको र यससम्बन्धी खर्च विश्वस्त हुनसक्ने अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा कोभिड–१९ को महामारीको बन्दाबन्दीको अवस्थामा समेत भ्रमण खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै नगरपालिकाबाट पाइप, जस्तापाता, प्लाष्टिक टनेल तथा अन्य सामग्री खरिद तथा वितरण गरी खर्च लेखेको पाइएको महालेखाले जनाएको छ । 
 
यस्तै सामी परियोजना सञ्चालन गरिरहेको बालसेवा समाज नेर्पाका ३४ कर्मचारी र पदाधिकारीको क्षमता विकासका लागि पाँचदिने रिपोर्ट लेखन र पाँचदिने वित्तीय व्यवस्थापन तालिमका लागि नगरपालिकाले रु छ लाख ५० हजार र संस्थाले छ हजार नौ सय ३० व्यहोर्ने गरी सम्झौता भएको तर, पालिकाको कर्मचारीको क्षमता विकासमा खर्च नगरी बाह्य संस्थाको कर्मचारीलाई दिइएको उक्त तालिमको औचित्य पुष्टि हुनुपर्ने अन्यथा असुल हुनुपर्ने भनिएको छ । दिक्तेलको मुढेमा खोटाङ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा सञ्चालन गरिएको होमस्टे तालिममा भएको खर्चमध्ये रु ३९ हजार असुल गर्न भनिएको छ ।
 
रु पाँच लाख भुक्तानी दिइएको तालिममा ४५ जना सहभागीको खाना र खाजावापत प्रतिदिन रु आठ सयका दरले सात दिनको रु दुई लाख ८५ हजार खर्च लेख्नुपर्नेमा नौ दिनको रु तीन लाख २४ हजार खर्च देखाएर भुक्तानी लिएकाले दुई दिनको बढी खर्च असुल गर्न भनिएको छ । प्रतिवेदनमा शिक्षकलाई पारित भएको तबली प्रतिवेदनभन्दा बढी ग्रेडमा भुक्तानी भएको रु तीन लाख ५६ हजार चार सय ६८ असुल गर्न भनिएको छ ।
 
निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले कार्यालय प्रयोयोजनभन्दा बढी आफ्ना कार्यकर्तालाई इन्धन उपलब्ध गराएकाले इन्धन खरिदमा बढी खर्च देखिएको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २३ बमोजिम स्वीकृत भएको कार्यक्रममा नियम २५ बमोजिम चौमासिक प्रगति विवरण बनाइ पेश गर्नुपर्ने र चौमासिक कार्यलक्ष्य तथा कार्यक्रमबमोजिम कार्यसम्पादन सम्पन्न गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया