भर्खरै

ललितपुरमा नगर प्रहरीको क्विक रेस्पोन्स टीम सेवा सुरू, महानगरपालिकाले अब विद्युतीय सवारी साधन मात्रै किन्ने

  • प्रकाशित मिति : बिही, साउन ५, २०७९
  • - विद्युत संसार
title

काठमाडौं ५ साउन ।  ललितपुर महानगरपालिकाले नगर प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) सेवा सुरू गरेको छ । बिहीबार एक कार्यक्रमका बीच मेयर चिरिबाबु महर्जनले नगरप्रहरीलाई स्कुटर हस्तान्तरण गरेर क्यूआरटी टोली शुभारम्भ गरे । 
 
महानगरबासीलाई आइपर्ने विभिन्न समस्याको तत्काल समाधान र सहयोग गर्न नगर प्रहरीको क्यूआरटी टोली परिचालनमा ल्याइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
 
मेयर महर्जनका अनुसार क्यूआरटी टोलीले नगर सफाइदेखि सार्वजनिक आवागमनमा बाधा पुर्‍याउने गरी राखिएका फुटपाथ पसल हटाउन, अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्न र हटाउने लगायतका काम गर्नेछ।
 
कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरे। उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गरे ।
महानगरपालिकाले दिएको ५ वटा स्कुटरबाट नगर प्रहरीले गस्ती सुरु गरेको हो । नगरप्रहरी प्रमुख सिताराम हाछेथुले भने, गल्ली र टोल–टोलमा सजिलो होस् भनेर विद्युतीय सवारीबाट गस्ती सुरु गरेको बताए । उनले गस्तीको मद्दतले नगरवासीलाई नै सेवा पुग्ने र सडकमा यात्रा गर्नसमेत सजिलो हुने बताए ।

प्रतिक्रिया