भर्खरै

महाकाली सिँचाइको मूलनहरमा उदघाटनपछि नियमित पानी बग्ने

  • प्रकाशित मिति : बिही, असार ३०, २०७९
  • - रासस
title

महेन्द्रनगर, ३० असार । राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा रहेको कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणले धान दिवस मनाउन गत असार १५ गते मूल नहरमा पानी बगाए पनि अहिले रोकिएको छ । एकीकृत महाकाली सन्धि भएको अढाइदशक बढी समयपछि महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भारतले तेस्रो चरणको मूल नहरलाई धान दिवस मनाउन पानी दिएको थियो । महाकाली नदीदेखि नेपाल–भारत सिमानासम्म एक हजार दुई सय मिटर मूलनहर सन्धि अनुसार भारतले बनाएपछि असार १५ मा बेदकोट नगरपालिका क्षेत्रसम्म पानी आएको थियो  । 
 
भारतीय एनएचपीसी (नेसनल हाइड्रोपावर कर्पोरेशन) ले  पानी दिने विषय विधिवत् उद्घाटनपछि मात्रै नियमित दिने तयारीमा रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले बताए । “वर्षात भएकाले हामीलाई खासै पानीको आवश्यकता पनि छैन्”, उनले भने–“यहाँको मुसेपानी खोलामा पानी ल्याएर छाड्ने भनेपनि सो ठाउँमा पानी बन्द गर्ने र खोल्ने गेट भने निर्माण हुन बाँकी छ ।”
 
उहाँले दुवै देशको माथिल्लो तहबाट संयुक्त रुपमा उद्घाटनपछि नियमित पानी मूलनहरमा बग्ने बताए । “असारको दोस्रो साता नहर परीक्षणका लागि पानी छोडिएको थियो”, निर्देशक बमले भने,“संरचना निर्माण नहुँदा अस्ती पनि नहरमा बोराले थुनेर थोरै पानी ल्याएका थियौँ ।”
 
उहाँले शाखा नहर निर्माण र अन्य संरचना बनाउनुपर्ने काम बाँकी रहेकाले पनि आफूहरुले नहरमा नियमित पानी ल्याउने विषयमा ध्यान नदिएको निर्देशक बमको भनाइ छ । सिँचाइ आयोजनाका अनुसार हाल निर्माणको अन्तिम चरणमा रहेको २८ किलोमिटर मूल नहर बनेपछि सो क्षेत्रको पाँच हजार ३०० हेक्टर क्षेत्रफलमा भने सिँचाइ सुविधा पुग्ने जनाएको छ ।
 
कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर नहर निर्माण गरी ३३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको आयोजनाका लागि रु ३५ अर्ब लागतसहित गुरुयोजना तयार रहेको छ । डेढ दशकअघिदेखि निर्माणको सुरसार गरेको आयोजनाले भने हालसम्म ३० किलोमिटरसम्म मूल नहर निर्माण गर्न सकेको छैन् ।
 
पछिल्लो समय २१ किलोमिटर शाखा नहरको निर्माणमा सक्रियता देखाएको आयोजनाले शाखा नहर निर्माण ठेक्का प्रक्रियामा रहेको जनाएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले उक्त आयोजनाका लागि रु एक अर्ब २६ करोड रकम विनियोजन गरेकोे छ । लामो समय मुआब्जा अल्झन्, रकम अभाव लगायतका कारणले कछुवागतिमा अघि बढ्दै आएको आयोजना पछिल्लो समय सक्रिय देखिए पनि पानी नियमित कहिलेदेखि आउने भन्नेमा आफै अन्यौलमा छ । सन्धि अनुसार दोधारा चादँनी नगरपालिकालाई शारदा नहरबाट ३५० क्युसेक पानी भारतीय पक्षले दिनुपर्ने भए पनि उक्त विषयले अझै प्रवेश पाएको छैन् । विसं २०५२ मा प्रधानमन्त्रीस्तरमा महाकाली सन्धिमा हस्ताक्षर भएको थियो । 

प्रतिक्रिया