भर्खरै

सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाएको भन्दै गगन थापा गरे आलोचना

  • प्रकाशित मिति : सोम, जेठ २३, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ २३ जेठ । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन् ।
 
यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गरेका हुन । 
 
नेता थापाले दण्ड जरिबानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै टिप्पणी गरे ।
 
सरकारले तयारी विना गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको भन्दै सबै तिर आलोचना भइरहेको छ । इम्बोस्ड नम्बर अनिवार्य गर्नुअघि विभिन्न नाकामा नम्बर प्लेट रिड गर्ने रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस अर्थात आरएफआईडी जडान गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । 
 
यातायात व्यवस्था विभागले अबको १५ महिनामा थप २४ लाख ७५ हजार नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ ।  इम्बोस्ड नम्बर प्लेट राख्नको लागि दुई पाङ्ग्रेका लागि २ हजार ६ सय, तीन पाङ्ग्रेका लागि २ हजार ९ सय, साना गाडीका लागि ३ हजार २ सय र ठूला गाडीका लागि ३ हजार ६ सय रुपैयाँ लाग्नेछ । इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनलाइनमार्फत निवेदन दिन सकिने विभागले जनाएको छ । 
 
वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ । २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो ।

प्रतिक्रिया