भर्खरै

हावाहुरीले १४० विद्युत् पोलमा क्षति

  • प्रकाशित मिति : आइत, जेठ ८, २०७९
  • - रासस
title

चितवन, ८ जेठ । जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपुरका १४० विद्युतका पोल ढलेका हुन् ।
 
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरको १ देखि ६ वडासम्म ती पोल ढलेका हुन् । ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत् सञ्चालन गर्न अझै पाँच दिन लाग्ने उनले बताए । 
 
केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेशनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध भएको हो । उनका अनुसार भरतपुरमा हावाहुरीले पोल ढल्दा ठाउँठाउँमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले चार वटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राविधिक शक्ति परिचालन गरेको सिंहले बताए । 
 
उहाँले अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत् पुनःसञ्चालन गरिएको बताए । चनौली सबस्टेशनबाट वितरण हुने बिजुलीमा भने समस्या नरहेको इञ्जिनीयर पौडेलले बताए । 
 
भरतपुर पश्चिम क्षेत्रमा विद्युत् प्रवाहमा समस्या नभए पनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म विद्युत् प्रवाहमा समस्या रहेको उनले जानकारी दिए । हावाहुरीका कारण रु ३० लाखको सामग्री क्षति भएको र रु पाँच करोडको विद्युत् खपत अवरुद्ध भएको उनले जानकारी दिए । 
 
विद्युत् लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ भने खानेपानी र इन्टरनेटसमेत प्रभावित छ । शुक्रबारको हावाहुरीका कारण तीनको ज्यानसमेत गएको थियो भने ११ घाइते भएका थिए । हावाहुरीले भरतपुरको मुख्य शहरी क्षेत्रका धेरै रुख लडेका हुन् । धेरैजसो ठाउँमा रुखले विद्युत् पोल लडाएको हो ।
 
लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
 
आज बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । गएरातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ । 
 
राति रुख ढलेका कारण विद्युत् समस्या भएको स्थान पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ । लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ । विद्युतमा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्रही बताउँछन् । 

प्रतिक्रिया