दलका घोषणापत्रमा विद्युतीय चुलो

  • प्रकाशित मिति : सोम, बैशाख १२, २०७९
  • - विद्युत संसार
title

काठमाडौं १२ बैशाख । स्थानीय तह निर्वाचन आउन अब १८ दिन मात्र बाँकी छ । अधिकांश राजनीतिक दलले आआफ्ना नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरिसकेका छन् । स्थानीय निर्वाचनलाई लक्ष्य गरी नेपाली कांग्रेसले ल्याएको घोषणापत्रमा हरेक स्थानीय तहमा स्वच्छ ऊर्जामा आधारित आर्थिक गतिविधि र उद्यमशीलतालाई बढावा दिने, पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्दै नवीकरणीय ऊर्जामार्फत दिगो हरित अर्थतन्त्रको निर्माण गर्ने र स्वच्छ ऊर्जाको खपत बढाउन विद्युतीय चुलोको प्रवद्र्धनमा प्राथमिकता दिइएको छ । घोषणापत्रमा हरेक घरमा विद्युतीय ऊर्जाबाट खाने पकाउने प्रविधिको प्रयोग बढाउने गरी कार्यक्रम लागू गर्ने र घरायसी उपयोगका लागि स्वच्छ ऊर्जा वा वैकल्पिक उर्जाको प्रयोगमा बढोत्तरी गर्ने उल्लेख छ ।
 
यस्तै नेकपा(एमाले) को घोषणापत्रमा आधुनिक ऊर्जा–उज्यालो पालिकाअन्र्तगत विद्युत् उत्पादन र खपत बढाउने तथा आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा ल्याउने कुरामा जोड दिइएको छ । यसमा प्रत्येक नागरिकका घरमा विद्युत् सुविधा उपलब्ध गराइने र विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराइने, हरेक स्थानीय तहमा स्वच्छ ऊर्जामा आधारित आर्थिक गतिविधि र उद्यमशीलतालाई बढावा दिइने, पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्दै नवीकरणीय ऊर्जामार्फत दिगो हरित अर्थतन्त्रको निर्माण गसन् र स्वच्छ ऊर्जाको खपत बढाउन विद्युतीय चुलोको प्रवद्र्धनमा प्राथमिकता दिइएको छ । 
 
नेकपा(माओवादी केन्द्र)ले जारी गरेको अपिल र प्रतिबद्धतामा सबै वडामा विद्युतीकरणको व्यवस्था गर्नाका साथै एलपी ग्यास आयात प्रतिस्थापन गर्न र जनतामा विद्युतको उपभोग बढाउन स्थानीय तहद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने उल्लेख छ । नेकपा(एकीकृत समाजवादी) ले घोषणापत्रमा ‘जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार’ मुख्य नारा दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको अर्को दल राष्ट्रिय जनमोर्चा नेपालले इन्धन आपूर्तिको वैकल्पिक व्यवस्थामा जोड दिएको छ । अन्य राजनीतिक दलले भने घोषणापत्रमा स्वच्छ भान्छाको महत्वलाई आत्मसात् गर्न सकेको देखिँंदैन ।

प्रतिक्रिया