भर्खरै

बिजुली अभाव भए सरकारलाई तालाचाबी बुझाउने उद्योगीको चेतावनी

  • प्रकाशित मिति : बिही, चैत १०, २०७८
  • - विद्युत संसार
title

काठमाडौँ — नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले औद्योगिक क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बुधबारदेखि भारतबाट बिजुली नआउँदा उद्योगहरु बन्द गर्नुपरेको र दैनिक करोडौंको घाटा व्यहोर्नुपरेको भन्दै परिसंघले कुटनीतिक पहल गरी भारतबाट बिजुली ल्याउन सरकार र विद्युत प्राधिकरणसँग माग गरेको छ ।
‘लगातार विद्युत् नहुँदा उत्पन्न भएको भयावह स्थितिप्रति विद्युत् प्राधिकरणसहित सरकारका सम्बन्धित पक्षहरु संवेदनशील हुनुपर्दछ । नेपालको औद्योगिक क्षेत्र लगातार विभिन्न दुर्घटनाको शिकार बन्न गई मुलुकको आर्थिक अवस्था नै तहसनहस भइसकेको छ,’ परिसंघले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अबिलम्ब कुटनीतिक वार्ता र छलफल गरी भारतबाट नेपालले यसअघि पाइरहेको बिजुली साबिक परिमाणमा नै ल्याउन पहल होस् । विद्युतको अभावमा उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएमा उद्योगका ताला चाबी सरकारलाई बुझाएर बस्नुपर्ने अवस्था हुनेछ।’
 
उद्योग परिसंघ प्रदेश १ ले महामारी र चर्को ब्याजदरका कारण थलिएको औद्योगिक क्षेत्रमा बिजुली कटौती हुनु अर्को बज्रपात रहेको जनाएको छ । ‘लगातार प्राकृतिक प्रकोपबाट गुज्रिरहेको मुलुकलाई विगत २ वर्षदेखि कोभिडले गरेको असरमा सरकारलगायत सम्बन्धित पक्षबाट कुनै मलमपट्टी हुन सकेको छैन । त्यसमाथि बैंकमा आफूखुसी ब्याज प्रणालीले औद्योगिक क्षेत्र डुब्न लागिसकेको अवस्थामा छन्,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हाल आएर औद्योगिक क्षेत्रमा विद्युत् कटौती बज्रपात हुन पुगेको छ ।’
कान्तिपुर डटकम

प्रतिक्रिया