भर्खरै

प्रतियुनिट ३८ रुपैयाँमा भारतबाट विजुली किन्दै प्राधिकरण, दैनिक २२ करोड भार थपियो

  • प्रकाशित मिति : बिही, चैत १०, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, १० चैत । नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट शुक्रबारदेखि नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा खरिद गर्ने भएको छ । प्राधिकरणले बिजुली किन्नका लागि प्रतियुनिट भारु २० रुपैयाँमा प्रस्ताव हालेको र ह्विलिङ चार्ज तथा कमिसन समेत गरेर प्रतियुनिट ३८ रुपैयाँ पर्ने प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणले आज विहिबार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने सम्झौता भएको जानकारी दिए । पत्रकार सम्मेलनमा विद्युत् भार प्रक्षेपण केन्द्रका प्रमुख सुरेश भट्टराईले बिहीबार राति १२ बजेदेखि बिजुली किन्नका लागि प्रतियुनिट औसत भारु २० रुपैयाँमा प्रस्ताव हालेको बताए । भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको भट्टराईको भनाई थियो ।
 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको बताएका छन् । घिसिङले एक हप्ताका लागि महंगो मूल्यमा बिजुलीको जोहो गरिएको जानकारी दिए । उनले यस विषयमा उद्योगी र अर्थमन्त्रीसँग पनि छलफल गरिरहेकोले उद्योगीहरूलाई पनि यो संकटका बेला सहयोग गर्न आग्रह गरे ।
भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । तर बुधबार भने नेपालले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको हो । नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो ।

प्रतिक्रिया