मुलुकको भविष्यः इतिहासले खोजेको महाअभियान

  • प्रकाशित मिति : बुध, माघ २६, २०७८
  • - राम प्रसाद पौडेल
title

विकास र समृद्धिको बहस नेपालका लागि नौलो होइन । राणा शासनको अन्त्य पछि नेपालमा विकासको बहस सुरु भएको हो । नेपाल सँगसँगै विकास प्रक्रियाको सुरुवात गरेका चीन, भारत, दक्षिण कोरिया लगायतका देशहरूले विश्व अर्थतन्त्रमा प्रभुत्व जमाइसक्दा नेपाल भने विकासको नारामै सीमित छ । नयाँ नेपालको नयाँ इतिहास कोर्दै गणतन्त्र नेपालको संविधान कार्यान्वयनको प्रारम्भ भएको पनि लामो समय भयो । जसले मुलुक संक्रमणकाल पार गर्दै अग्रगमनको यात्रामा बामे सरिरहेको छ ।  राजनीतिक आन्दोलन बाट आक्रान्त भइसकेको यो मुलुकमा आर्थिक आन्दोलनको मार्ग खोज्ने नेपाली जनताले चाहेको जनआकांक्षा अनुसारको समृद्ध मूलूक आम नागरिकले हेर्न र अनुभव गर्न सकेका् छैनन् । 

 
संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य लक्ष राखेर समाजवाद उन्मुख लोकतान्त्रिक व्यवस्थालाई अवलम्बन गरेको छ । झन्डै दुईतिहाइको बलियो र स्थिर सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को मुख्य ध्येय राखेर अगाडि बढ्न सकेन जसकारण विभिन्न राजनैतिक खिचातानीका बीच हाल पाँच दलिय सरकार बनेको छ । बलियो र स्थिर सरकार बनेपछि जनतामा विकास र समृद्धिको भोक ज्यादै बढेर गएपनि सरकारको कार्यशैलीले जनतामा सकरात्मक सन्देश प्रवाह गर्न नसकेकाले जनतामा निरासा छाएको छ ।
 
विकास र समृद्धिको मुख्य मियो राजनीति हो । राजनीतिक स्थिरता र स्वतन्त्रताविना विकास समावेशी र सबल हुँदैन । नेपालको विकासको दिर्घकालिन सोचका बारेमा राजनीतिक वृत्तमा बौद्धिक बहस हुनुपर्ने हो तर चुनाव ताका समुन्द्रमा पानी जहाज चलाउने, घरघरमा ग्यासँ पाइपलाइन जोड्ने, देशलाई रेल सञ्जालले जोड्ने लगायताका मीठा भाषण सुनियो । तर त्यसका लागि पुँजी कसरी जुटाउने र कुन मोडलका विकास गर्ने भन्ने विषयमा चर्चै हुँदैन ।  
 
नेपालको विकासले अहिलेसम्म पनि ठोस गति लिन नसक्नुमा अन्य कुराका अतिरिक्त नेपालका योजनाकारहरू, अर्थनीतिका सञ्चालकहरू र राजनीतिक नेतृत्वले समेत नेपालका लागि आवश्यक, र उपयुक्त योजना र परियोजनाको सुझाव दिएर त्यसका लागि वैदेशिक सहायता जुटाउन गर्नु आवश्यक छ । जलविद्युत क्षेत्र मुलुकलाई विकासको गतिमा डोर्याउने एक उपयुक्त क्षेत्र हो । जलविद्युतलाई नेपाल जस्तो मुलुकको निम्ति ऊर्जाको भरपर्दो माध्यमको रुपमा लिन सकिन्छ । ऊर्जालाई विकासको पुर्वाधार अन्र्तरगत निकै नै महत्वपुर्ण स्रोतको रुपमा पनि लिने गरिन्छ । यसकारण देशका अन्य सम्पुर्ण क्षेत्रको समेत विकास गर्नको निम्ति पनि ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्नु आवश्यक छ । जलविद्युत ऊर्जाको दिगो र भरपर्दो माध्यम समेत भएको हुनाले नेपालमा जलविद्युत आयोजनाहरुको स्थापना तथा विकास गर्नु अपरिहार्य छ । अहिलेको अवस्था सम्म आइपुग्दा नेपालका सबैजसो राजनीतिक दलले समेत यस कुरालाई राम्रोसँग बुझेका छन् । यसैकारण हुनुपर्छ, चुनावी घोषणापत्रमा समेत जलविद्युत उत्पादनलाई प्राथमिकतामा नै राखेको अवस्था छ । जलविद्युतको माध्यमवाट अहिलेको विश्व उर्जा संकटलाइ कमगर्न तत्कालै प्रयास सुरु गर्नुपर्दछ । विद्युत निर्यातको संभावनालाई साकार रूपदिन तीब्र विकासमा जानुपर्छ ।
अहिले नेपालमा जलविद्युत आयोजना बनिरहेका ठाउँलाई नै हामीले हे¥यौं भने पनि पहिले बाटोघाटो, खानेपानी लगायतका सुविधाहरु उपलब्ध नभएको ठाऊँमा पनि आयोजनाकै कारण बाटोघाटो र खानेपानीको पहुँच विस्तार भएको छ । यति मात्र होइन मान्छेको सोच्ने क्षमता, काम गर्ने तरिका लगायतका बानी व्यहोरामा समेत परिवर्तन आएको छ ।
नेपालको भौगोलिक परिवेश र संरचना बमोजिम धेरै ठाऊँमा जलविद्युतको मात्र सम्भावना भएकै कारण नेपालमा अहिले जलविद्युत आयोजनाहरु बढी चर्चामा रहने गरेका छन् । जलविद्युतको विकाससँगै सिंचाइका कुरा जोडिन सक्छ । यस सँगै कृषिमा आधारित आयमूलक कामहरु, पशुपालन, उद्योग लगायत कृषि परियोजना अन्तरगत फलफूल, जुस, डेरी, लगायतका उत्पादनहरुको पनि नेपालमा राम्रो सम्भावना छ । यसको अलावा पर्यटन व्यवसायको नेपालमा निकै राम्रो सम्भावना बोकेका क्षेत्र हो । कोरोना महामारी पश्चात पर्यटन क्षेत्र केही ओझेलमा परे पनि सरकार र आम नागरिकको सहकार्यमा यसलाई जागरुक बनाउन सकिन्छ यो आजको गहन विषय समेत बनेको छ । 
 
राजनीतिक दलका भातृ संगठन सबै बेरोजगारको भीड जस्तो भएको छ । आज काम गर्ने मान्छेपनि त्यहाँ गएर काम गर्दैन यस्तो जमात लिएर मुलुक विकास हुन सक्दैन । नेपालमा अहिले पछिल्ला वर्षहरुमा जलविद्युत उत्पादन बढ्ने क्रममा नै भएपनि त्यहाँबाट उत्पादित जलविद्युतको वितरणको निम्ति भने प्रसारणलाइनको अभाव छ । यसले गर्दा नेपालमा उत्पादित विद्युत पनि सही तवरले वितरण हुन सकेको छैन । यसको मुख्य दोष हाम्रो नेतृत्ववर्ग नै हो । नेपालमा सबैभन्दा दुख लाग्दो कुरा भनेको अधिकांश योजनाहरु कागजमा मात्र सीमित रहनु हो । यसले गर्दा पनि नेपालको राम्रो तवरले विकास हुन सकेन ।
मुलुक निमार्णको आधारशिला तयार गरेर विधिको शासन अनुशासित जनता र समृद्ध मुलुक निमार्ण गर्नका लागि जस्ता सुकै अप्ठ्याराहरूको सामना गर्नुपरे पनि सम्पूर्ण राजनितिक दलहरू एक ठाँउमा एक भएर उभिन सक्नुपर्दछ । विभिन्न बादका नाममा मुलुक लाई बन्धक बनाईनु हुँदैन । समाजवादी साम्यवाद वा समाजवादी प्रजातन्त्रवादको स्पष्ट व्याख्या इमानदारीताका साथ देखाउनु पर्ने बखत आईसकेको छ । परिवर्तनको नाममा नयाँ नेपाल निमार्ण गर्ने नाममा जनमतको दुरुपयोग पनि नहोस । कुनै पनि एकल सिद्धान्त ,विचार वा दर्शन धाराले समृद्धि प्राप्त हुन बन्न सक्दैन । तर वृहत हित सहमति सहकार्य र एकता बाट मात्र मुलुक समृद्ध बन्न सक्दछ । दिगो विकासका लागि इमान्दार शासकको टडकारो आवश्यकता देखिन्छ । मुलुक निमार्णको आधार मुलुकको यातायात, स्वास्थ्य, शिक्षा, संस्कृति जस्ता पक्षहरूको उन्नतिको लागि गरिने कार्यको उत्तरदायित्व सबेै पक्षले निर्वाह गरिनु पर्दछ । जसले विकासको महाअभियानलाई अंगाल्दै नेपालको विकासको भविष्य कोर्नेछ  । जसका लागि दुरदर्शिता स्पष्ट अडान गन्तव्यमुखी नेतृत्व र असल नागरिक र सक्षम जनशक्ति नै पहिलो आवश्यकता हो ।
 
अब पनि हामी गम्भीर भएर विकासलाई अगाडि बढाउन सकेनौं भने भावी पुस्ताले हामी सबैलाई सराप्ने छ । छिमेकी मुलुक विकासको चरम उत्कर्षमा पुग्दासमेत हामी भने विकासको बहस मात्रै गरेर समय खेर फालिरहेका 
छौं । त्यसैले अब विकासको बहस हामी सबैले विकास र समृद्धिलाई सार्थकता प्रदान गर्न आ–आफ्नो ठाउँबाट सक्दो सहयोग र योगदान दिनु आवश्यक छ ।

प्रतिक्रिया