राष्ट्रिय जनगणनाः किन आइरहेको छ गुनासाको ओहिरो ?

  • प्रकाशित मिति : बुध, माघ १९, २०७८
  • - विकास चन्द्र ठकुरी / काठमाडौं
title

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको प्रारम्भिक तथ्याङ्क अघिल्लो साता सार्वजनिक ग¥यो । जसमा राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । वार्षिक जनसंख्या वृद्धिदर भने ०.९३ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । अघिल्लो जनगणनाअनुसार, वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो । पछिल्लो वृद्धिदर ८० वर्षयताकै न्यून भएको तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । पछिल्लो एक दशकमा २७ लाख जनसंख्या बढेको छ । यो न्यून वृद्धिदर हो । संख्यात्मक रूपमा पुरुषको भन्दा महिलाको जनसंख्या बढी छ । जसअनुसार महिलाको संख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ छ भने पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ छ । पुरुषभन्दा महिलाको संख्या छ लाख नौ हजार ८५८ बढी देखिएको छ ।
 
तथ्यांक विभागले प्रारम्भिक नतिजा सार्वजनिक गरेपछि नागरिकहरुले सामाजिक सञ्जालमार्फत जनगणनामा आफु छुटेको गुनासो गरेका छन् । आफूलाई कोही गन्न नआएकाले जनसंख्या अहिले सार्वजनिक भएभन्दा बढी रहेको उनीहरूको जिकिर छ । यस्तो समस्या प्रायः शहरी क्षेत्रमा डेरामा बस्नेहरू जनगणनामा छुटेका हुन सक्ने गुनासो बढेको छ ।
 
तर विभाग यस्ता कुरा मान्न तयार छैन । विभागका अनुसार काठमाडौं महानगरमा गणकहरू हातमा ट्याबलेट बोकेर गणना गर्न गएका थिए भने विदेशस्थित नियोगमा इ–सेन्ससबाट गणना भएको थियो । ‘अरू ठाउँमा प्रश्नावली बोकेरै गणकहरू घरमा गएका हुन् । २–३ प्रतिशत कम गणना जहाँ पनि हुने भएकाले कहीँ कतै कोही छुटेको हुन सक्छ तर ‘धेरै मानिस नछुटेको विभागले बताउँदै आएको छ ।
 
राष्ट्रिय तथ्यांक विभागले जनगणना गर्न दुईपटक घर–घरमा कर्मचारी खटाएको थियो । पहिलो चरणमा २०७८ भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचीकरणका लागि कर्मचारी खटिएका थिए भने दोस्रो चरणमा कात्तिक २५ देखि मंसिर ९ सम्म मूल गणना भएको थियो । जनगणनाका लागि प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कामका लागि १ हजार ८ सय ७१ कर्मचारी खटिएका थिए । जनगणना गर्न ८ हजार ५ सय सुपरीवेक्षक र ३९ हजार गणक संलग्न थिए । सरकारले हरेक १०÷१० वर्षमा जनसंख्याको जनगणना गर्छ । जनगणनाका राज्यको लगानी अरबौँ रकम खर्च हुने गरेपनि कर्मचारीको लापर्वाहीले वास्तविक तथ्यांक बाहिर आउने नगरेको केही मानिसहरुको आक्रोस समेत पोखेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । 
 
जनगणनामा खटिएका गणकमा अनुभव र तालिम अभावले पनि कुनै ठाउँमा त्रुटि भएको हुन सक्ने विभागको बुझाई छ भने कति मानिसले त करको डरले हो कि किन हो आफू गणना हुन नचाहेको पनि देखिएको र गणक जाँदा घरबेटीले ढोका नै नखोलिदिएका उदाहरण धेरै भएकोले यस्तो हुन सक्ने आकलन विभागको छ । 
 
यद्यपि सरकारले हरेक १०/१० वर्षमा अरबौँ रकम खर्च गरेर गरिने जनगणनामा अर्को पटक गणना गर्दा यसपटकको भुलहरुलाई आत्मासाथ गर्दै  खटिएका गणकहरुलाई अनुभव र तालिम सँगै आम मानिसमा चेतना दिदंै राष्ट्रिय जनगणना गर्नु आवश्यक रहेको हालै भएको जनगणनाबाट पनि स्पष्ट हुन्छ ।

प्रतिक्रिया