भर्खरै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

  • प्रकाशित मिति : बिही, पौष २९, २०७८
  • - Admin
title

२९ पुस, काठमाडौं । साझा यातायातले ललितपुरको भित्री शहरमा साना विद्युतीय बस चलाउने भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले ४ वटा साझा बस किन्न ठेक्का सम्झौता गरेको छ ।
इको भिजनरी कम्पनीसँग एक करोडभन्दा बढी मूल्यमा ४ वटा बस किन्न ठेक्का सम्झौता भएको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधारका अनुसार ललितपुरको भित्री शहरी क्षेत्रमा सार्वजनिक यातायातको पहुँच पु¥याउन यस्तो कदम चालिएको उनले बताए ।
 
‘भित्री शहरबाट बाहिर जानुपर्दा स्थानीयलाई सास्ती छ, त्यो समस्या समाधान गर्ने गरी भित्री शहरसम्मै साना बस चलाउन खोजेका हौं,’ उनले भने, ‘महानगरपालिकाले नै यसको लागि पहल लिएको हो, यो सेवा शुरु भएपछि भित्री शहरमा आउनु–जानुपर्दा निजी सवारीको भर पर्नुपर्ने छैन ।’
 
ललितपुरको मंगलबजार, बंगलामुखी लगायतका क्षेत्रमा विद्युतीय बसले सेवा दिनेछन् । बसमा चढ्ने विदेशी पर्यटकलाई भाडा नलिने व्यवस्था गरिने तुलाधरले बताए । त्यसैगरी ललितपुरका स्थानीय वृद्धवृद्धालाई पनि निःशुल्क सेवा दिने उद्देश्य रहेको उनको भनाइ छ ।
 
‘अहिले पाटन दरबार क्षेत्रमा आउने पर्यटक त्यहीँबाट फर्किन्छन्, इच्छुक पर्यटकलाई ललितपुरको भित्री शहरको जनजीवनको अवलोकन गर्न प्रोत्त्साहित गर्ने र भित्री शहरसम्म पर्यटन प्रवर्द्धन गर्न यी बसले सघाउनेछ,’ तुलाधर भन्छन् । अझ सबैलाई भित्री शहरबाट चक्रपथ वा मूल सडक र बजारसम्म आउन–जान हुने सास्ती पनि कम हुने साझाले बताएको छ । अनलाइन खबर

प्रतिक्रिया