भर्खरै

दाङको विकट बस्तीमा ‘सोलार लिफ्टिङ्ग’ प्रणालीबाट खानेपानी र सिँचाइ सुविधा

  • प्रकाशित मिति : शुक्र, पौष २३, २०७८
  • - हेमराज शर्मा
title

दाङ, पुस । दाङ देउखुरीको राप्ती गाउँपालिकाको विकट बस्तीमा पानी पुग्न थालेको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने खर्क, माछिताल लगायतका क्षेत्रमा सोलार अपलिफ्ट प्रणालीबाट सिँचाइ र पिउनका लागि पानी पु¥याउन थालिएको राप्ती गाउँपालिकाले जनाएको छ । घर नजिकै पानी पुगेपछि राप्ती गाउँपालिकाको पहाडी भेगका बासिन्दा खुशी भएका छन् ।
 
राप्ती गाउँपालिकाको विकट बस्तीमा सोलार लिफ्टिङ्ग प्रणालीबाट खानेपानी र सिँचाइ सुविधा पु¥याइएको छ । गाउँपालिकाको वडा नम्बर १ को माछिताल र खर्कमा सोलार जडान गरि अपलिफ्टबाट पानी पु¥याइए पछि स्थानीयहरु खुशी भएका छन् ।
 
स्थानीय वगासोती खोला नजिकको मूललाई व्यवस्थित गरि २ ठाउँमा रिजर्भ ट्याङ्की निर्माण गरेर खानेपानी योजना सञ्चालन गरिएको हो । सिँचाइका लागि भने राप्ती नदीबाट पानी अपलिफ्ट गरिएको छ । अटोमेटिक सोलार सिस्टमबाट सञ्चालन हुने प्रविधि मार्फत पानी वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
 
राप्ती गाउँपालिकाको विकट क्षेत्रमा रहेका दुवै गाउँमा पानीका श्रोत नभएपछि खानेपानीका लागि स्थानीयहरु घण्टौ हिँड्नुपर्ने बाध्यता रहेकाले एक गैर सरकारी संस्थासँगको समन्वयमा खानेपानी र सिँचाइका योजना सञ्चालन गरिएको वडा नम्बर १ का अध्यक्ष ताराबहादुर डिसीले बताए । माछिताल सुख्खा क्षेत्र भएकोले सोलार सिँचाइले गर्दा गहुँ, मकै तरकारी उत्पादन तथा सरसफाईमा समेत सहजता भएको स्थानीयहरुको भनाइ छ ।
 
राप्ती गाउँपालिकाको १५ लाख, नमसालिङ सामुदायिक विकास केन्द्रको १० लाख र स्थानीयवासीको ३ लाख गरि २८ लाख रुपियाँको लागतमा  माछिताल गाउँमा सिचाईका लागी पानी पु¥याइएको गाउँपालिकाले जनाएको छ । यस्तै खर्क गाउँमा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख गरि १५ लाख रुपैयाँमा खानेपानी पु¥याइएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

प्रतिक्रिया