भर्खरै

काठमाडौं उपत्यकामा बिजुली गइरहने समस्याको बारे यसो भन्छन् कुलमान

  • प्रकाशित मिति : शुक्र, पौष १६, २०७८
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, पुस । पछिल्लो समय काठमाडौं उयपत्यकामा बारम्बार बत्ती जाने समस्या बढी रहेको छ । यसरी बिजुली गएसँगै सामाजिक सञ्जालहरुमा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इङकित गरी गुनासोहरु आउने गरेको देखिन्छ । 
 
गुनासाहरुको बारेमा स्पष्ट धारणाजनतासामु पु¥याउन आज प्राधिकरणमा कुलमान घिसिङले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा निर्देशक घिसिङले अहिले उपत्यकाभित्र ह्वात्तै चिसो बढेसँगै विद्युत्को माग बढेको र वितरण गर्दै आएको प्रणालीमा समस्या आएकोले बत्ती आउने जाने गरेको बताए । 
 
कार्यक्रममा बोल्दै घिसिङले पछिल्लो तीन चार दिनयता विद्युत् आपूर्तिमा समस्या छ, यो समस्या देशभर नभई काठमाडौं उपत्यकामा मात्र रहेको उनको भनाई छ । अहिले विद्युत माग बेलुकाको पिकलोड १७ सय मेगावाटसम्म पुगिरहेको र बिहानमा १६ सय मेगावाटसम्म पुगेको छ ।
उनले भने उपत्यकामा मात्रै ३८ सय हाराहारीमा ट्रान्सर्फमर छन् । तीन÷चार दिनयता वितरण ट्रान्सर्फमर मा अचानक लोड बढेकोले केही फिडरमा वा केही ट्रान्सर्फमरमा समस्या देखिएको छ । विगत २–३ महिनायता हामीले ट्रान्सफर्मर फेरबदल र नयाँ थप्ने द्रुत गतिमा गरेका छौं । अहिले इमाडोल क्षेत्रमा, बानेश्वर क्षेत्र, महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत बढी समस्या देखिएको  र आज बेलुकासम्ममा सबै ट्रान्सर्फमर थप गरिसक्ने उनले जानकारी दिए ।
 
स्थानीयहरुले विरोध गरेर कसैले पनि आफ्नो घर नजिक ट्रान्सर्फमर राख्न नदिँदा प्राधिकरणलाई अहिले ट्रान्सफर्मर थप्ने काममा सम्स्या रहेको भन्दै घिसिङले सबै स्थानीयहरुलाई ट्रान्सर्फमर राख्न दिन आग्रह गरेका छन् । उनले अहिले विद्युत् कम भएर बत्ती गएको नभई वितरण प्रणालीले माग धान्न नसकेर गएकोले समस्या भएको भन्दै उनले दीर्घकालीन रुपमा उपत्यकाभित्र हामी २ हजार मेगावाट विद्युत् माग धान्नसक्ने गरी प्रसारण र वितरण प्रणाली बनाइरहेको  उनको भनाई छ । 
 
उपत्यकाको माग व्यवस्थापनका लागि थप १ हजार मेगावाट क्षमता धान्न सक्ने गरी मातातीर्थ, चोभार, टेकु, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारीलगायतका ठाउँमा सबस्टेसन बनिरहेको घिसिङले जानकारी दिए ।

प्रतिक्रिया