बाढीले क्षतविक्षत भएको तल्लो मोदी आयोजनाको उत्पादन ३ महिनापछि पुन सुचारु

  • प्रकाशित मिति : बिही, मंसिर १६, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

पर्वत, मंसिर । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाबाट पुन विद्युत उत्पादन सुचारु भएको छ । 
 गत भदौ १७ गते राति आयोजनाभन्दा माथिबाट आएको पहिराले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प भएको उक्त आयोजनाको ३ महिनापछि पुन विद्युत उत्पादन सुचारु भएको हो । 
बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो र मर्मत गर्न समय लागेको हो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । 
बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । उक्त आयोजनाको विद्युतगृहदेखि मोदी सवस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको ४ नम्बर टावरसमेत पहिराले ढालेको थियो । बाढी र पहिराका कारण मात्र ५ करोड रुपैयाँ भन्दा बढी क्षति भएको र लामो समयसम्म मर्मत गर्न नसक्दा थप २ करोड आम्दानीसमेत गुमेको निर्देशक गौतमको भनाई छ । 
 
टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युतगृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको थियो । आयोजनाको मर्मत पूर्णरुपमा अझै नसकिएको अझैपनि मर्मत कार्य भइरहेको उनको भनाइ छ । 

प्रतिक्रिया