भर्खरै

स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

  • प्रकाशित मिति : बिही, मंसिर ९, २०७८
  • - रासस
title

बेनी, ९ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । वडा नं ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नति नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयवासीले बुधबारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन् । 
 
स्थानीयवासीका जायज मागमा आयोजनाले बेवास्ता गरेको र पटक–पटकको ताकेतालाई समेत सम्बोधन नगरेपछि आन्दोलनमै उत्रिएर आयोजनाको सबै काम ठप्प पार्नुपरेको सङ्घर्ष समितिका संयोजक राजु बरुवालले बताए । बरुवालको नेतृत्वमा आयोजनाको निर्माण कार्य भइरहेको क्षेत्रमा पुगेका दुई दर्जन स्थानीयवासीले सुरुङमार्गमा बार लगाइदिएका छन् । 
 
त्यसैगरी आयोजनाको स्टोर, क्रसर, सवारी मर्मतस्थल लगायत सबै ठाउँको काम ठप्प पारेका छन् । म्याग्दी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको यस आयोजनामा सुरुङ ब्रेकथु भएर अन्य ड्याम साइट र विद्युतगृहतर्फको काम अघि बढेको थियो । 
 
आयोजनाको आन्तरिक पहुँचमार्ग बिरौटाबाट कुरिलाबौरसम्म पर्ने करिब तीन किलोमिटर सडक स्तरोन्नति र यस मार्गका कारण क्षति भएकाको लागि क्षतिपूर्ति तथा मौखिकरुपमा गरिएका सम्झौता आयोजनाले कार्यान्वयन नगरेकाले दबाबमूलक आन्दोलनमा उत्रिनु परेको स्थानीयवासीको भनाइ छ । 
 
स्थानीयवासीले आन्तरिक पहुँचमार्गलाई ग्याबिन जाली लगाएर मेसिनरी पर्खाल लगाउने, नाली निर्माणसहित दुई लेनको बनाउनुपर्ने र आवश्यकताअनुसार, सोलिङ र ढलानसँगै कालोपत्र गर्नुपर्ने माग गरेका छन् । आयोजनाले पहुँचमार्गको चौडाइ बढाउँदा आवश्यक पर्ने व्यक्तिगत जग्गालाई उचित मुआब्जा दिनुपर्ने, पहुँचमार्गमा पर्ने खोला तथा खोल्सीमा पुल र ह्युम पाइपको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । 
 
त्यसैगरी व्यक्तिका तथा सार्वजनिक जग्गा संरक्षणका लागि पहुँचमार्ग निर्माण गर्दा असर पुगेका ठाउँमा आवश्यकता अनुसार पर्खाल र ग्याबिन जाली लगाउनुपर्ने, प्रभावित क्षेत्रका खानेपानीका मूल सुक्दै गएको पाइएकाले मूलको अनुगमन तथा संरक्षण गर्नुपर्ने, पहुँचमार्गका कारणले सिँचाइमा असुविधा पुगेकाले वैकल्पिक सिँचाइ सुविधाको प्रबन्ध मिलाउन माग गरिएको छ । 
 
अन्नपूर्ण–५ शिख र ६ घारको सीमा क्षेत्रमा पर्ने कुरीलाबगरमा बाँध रहने यस आयोजनामा सुरुङमार्गबाट पानी लगेर पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । विसं २०७४ चैतबाट निर्माण सुरु गरिएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत् उत्पादन गर्ने गरि निर्माण कार्य अघि बढाइएको थियो । कूल रु दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको यस आयोजनामा कोरोनाका कारण निर्माणको काम पछि धकेलिएसँगै लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया