विद्युत् आपूर्ति अनियमित भएपछि निर्देशक घिसिङलाई ज्ञापनपत्र

  • प्रकाशित मिति : मंगल, मंसिर ७, २०७८
  • - Admin
title

मार्तडी, ७ मङ्सिर  । बाजुरामा विद्युत् आपूर्ति अनियमित भएपछि जिल्ला अधिकारी मार्फत् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोही जिल्लाका सञ्चारकर्मीले ज्ञापनपत्र बुझाएका छन् । 
 
बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति अनियमित हुन थालेपछि राष्ट्रिय प्रसारणको विद्युत् लाइन तत्काल विस्तार गर्न माग राख्दै जिल्लाका सञ्चारकर्मीले  सोमबार ज्ञापनपत्र बुझाएका हुन् । 
बिजुली नहुदा सदरमुकाममै सास्ती भोग्नुपरेको पत्रकार वसन्त विश्वकर्माले बताए । जिल्लामा सञ्चालित विभिन्न विद्युतीय तथा छापा माध्यममा कार्यरत पत्रकारलाई काम गर्न समस्या भएको उनले बताए । 
 
नेपाल सरकारको स्वामित्वमा रहेको बाजुरा साना जलविद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेडले भाडामा सञ्चालन गरिरहेको छ । सहकारीको विद्युत् व्यवस्थापन तथा सञ्चालनले नागरिक थप आजित छन् । विद्युत् सहकारीले सञ्चालन गरिरहेका बेला नागरिक भने सरकारले देशभर उज्यालो अभियान सञ्चालन गरे पनि सदरमुकाम मार्तडीलाई बेवास्ता गरेको ज्ञापनपत्रमा उल्लेख छ । दैनिक आठ घण्टा लोडसेडिङको मार खेपिरहेका सदरमुकामवासी भने अझै जिल्लाका ग्रामीण भेगमा सल्लोको टुकीको भरमा छन् ।
 
नेपाल विद्युत् प्राधिकरणको वितरण शाखा कार्यालय बाजुरा मार्तडीमै स्थापना भएको तीन वर्ष भइसकेको छ । सबस्टेशनको ठेक्का भएको एक वर्षभन्दा बढी वित्दा कुनै काम हुनसकेको छैन । विद्युत् नियमित नहुँदा बाजुराका सञ्चारकर्मी प्रभावित भएका छन् । विद्युत् अनियमित हुँदा रेडियो, पत्रपत्रिका, अनलाइनलगायत सञ्चालनमा समस्या भएको पत्रकार लक्ष्मीराज पाध्यायले बताए । जिल्लाका १३ सञ्चारमाध्यममा कार्यरत पत्रकारले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । रासस    

प्रतिक्रिया