भर्खरै

नयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण

  • प्रकाशित मिति : सोम, कार्तिक १५, २०७८
  • - रासस
title

पर्वत, कात्तिक । यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी-लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । 
पर्वतको मोदी गाउँपालिका-२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।
 
मोदी गाउँपालिकाको देउपुरमा ६३ रोपनी क्षेत्रफलमा निर्माण भएको नयाँ मोदी सबस्टेशन १३२ केभी क्षमताको हो । सबस्टेशनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँचमार्ग सबैको काम सम्पन्न भएपछि शनिबार चार्ज गरिएको छ । यसमा साविकको पोखरा-मोदी लाइनसमेत जडान गरिसकिएको उनले बताए ।
 
यसैगरी कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन लाहाचोक सबस्टेशनको सबै काम सम्पन्न भइसकेको छ ।  उपकरण जडानको सामान्य काम बाँकी रहेकाले एकदेखि डेढ महिनामा चार्ज गर्ने तयारी भइरहेको छ । 
 
पर्वत र कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत आयोजनाहरूबाट उत्पादित विद्युत्लाई पोखरास्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन  निर्माण भएको हो । मोदी -२ देउपुरबाट कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनमा १३८ टावर रहनेछन् । लाहाचोकबाट लेखनाथसम्मको काम भने बाँकी छ । त्यो क्षेत्रमा २० देखि २५ वटा टावर निर्माणको काम बाँकी रहेको छ । स्थानीयवासीको अवरोधलगायत समस्याका कारण टावर निर्माण हुन नसकेको हो । लेखनाथ सबस्टेशनको कामसमेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख अग्रवालले जानकारी दिए ।
 
रु दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोरोना र स्थानीयवासीको अवरोधलगायतका कारण केही समय ढिलाइ भएको हो । यो प्रसारण लाइन निर्माणका लागि सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । प्रसारण लाइन निर्माणपछि २०० मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिने छ ।

प्रतिक्रिया