भर्खरै

विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय वनाउन नवनिर्मित सवस्टेशनबाट सेवा सुरु

  • प्रकाशित मिति : शुक्र, कार्तिक ५, २०७८
  • - रासस
title

सर्लाही, ५ कात्तिक । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२/३३ केभीए सवस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह सुरु गरेको छ । करिब रु ४७ करोडको लागतमा निर्माण गरिएको उक्त आयोजनाले नजिकिँदै गरेको पर्व तिहारलाई झिलीमिली बनाउने भएको छ । 
 
लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको जिल्लाकै ठूलो आयोजनाले वितरण गरेको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय वनाउन सवस्टेशन निर्माण गरिएको जनाइएको छ । 
 
सवस्टेशनबाट विद्युत् प्रवाह भएपछि आफूहरुलाई खुसी लागेको र विद्युतीय समस्याबाट मुक्त भएको स्थानीय हरिप्रसाद धमलाले बताए । कोरोना महामारी, वर्षायाम र चाडपर्वका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसके पनि आफूहरुले काम गर्न कुनै कमी नगरेको पावाटेक वाइवा जेभी कम्पनीका प्रतिनिधि एचपी लामाले बताए ।
 
ट्रान्सफर्मर कात्तिक २ गतेदेखि नै चार्ज गर्न सुरु गरिएको र नवलपुरबाट विद्युत् प्रवाह सुरु भएपछि सर्लाहीमा विद्युतीय समस्या समाधान हुने आयोजना प्रमुख निरन्जन साहले बताए । उनका अनुसार समयमै काम सकेर दसैँदेखि नै विद्युत् सेवा विस्तार गर्ने लक्ष्य रहेकामा लकडाउनका कारण समस्या परेको र  अबको एक महिनामा निर्माणको सानोतिनो सबै काम सकिने भए पनि  विद्युत् प्रवाह भने आजैबाट सुरु भएको छ ।
 
सवस्टेशन निर्माणको सम्पूर्ण काम सम्पन्न भएपछि हरिपुर तथा मलङ्गवाका सवस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने आयोजना प्रमुख साहको भनाइ थियो । जिल्लाका तीन वटै सवस्टेशन ३३/११ केभीएका मात्र  रहेका कारण समस्या हुँदै आएको थियो । अब यो सवस्टेशन बनेपछि समस्या समाधान हुने विश्वास लिइएको छ ।
 
अहिले तीनवटै सवस्टेशनलाई  धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सवस्टेशनबाट विद्युत् ल्याउनु परेकामा अब नवलपुरको सवस्टेशन निर्माण भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सवस्टेशनबाट समेत सेवा सञ्चालन हुनेछ । बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेका कारण जिल्लामा विद्युतीय समस्या रहेको थियो । त्यही  समस्या समाधान गर्न जिल्लामै सवस्टेशन निर्माण भइरहेको आयोजना प्रमुख साहले बताए । यो सवस्टेशनका लागि ढल्केबर ग्रिड शाखाबाट पनि सेवा सञ्चालन हुनेछ । उनका अनुसार हरिपुर र मलङ्गवा सवस्टेशनलाई नवलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्नेछ ।
 
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब रु ४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५/०७६ देखि  सवस्टेशन निर्माणको पावाटेक वाइवा जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो । कोरोना महामारी, वर्षायाम, चाडपर्व आदिका कारण म्याद थप गरेर निर्माण गरेको कम्पनीले निर्माणको सम्पूर्ण काम  आव २०७८/०७९ भित्रैसम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि लामाले बताए ।
 
जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पु¥याउनका लागि सवस्टेशन निर्माणको काम गरिएको र अबको करिब एक महिनामा निर्माण सम्पन्न हुने उनको भनाइ थियो । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ ।

प्रतिक्रिया