भर्खरै

आजदेखि मध्य भोटेकोशीको आइपिओ बिक्री खुला

  • प्रकाशित मिति : बुध, असोज २०, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासन गरेको हो ।
 
कम्पनीले निष्कासन गरेको कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई र पाँच प्रतिशत अर्थात चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयरमा आम सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 
 
कम्पनीको आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर रु एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछ ।  उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।
 
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने छ । 

प्रतिक्रिया