भर्खरै

भारतको सहयोगमा संचालित पुनर्निर्माण कार्यको समीक्षा

  • प्रकाशित मिति : Fri-01-Oct-2021
  • - विद्युत संसार
title

काठमाडौं, १४ असोज । भारत सरकारको अनुदान तथा ऋण सहयोगमा संचालित पुनर्निर्माणका कार्यहरुको समीक्षा गरिएको छ । नेपाल–भारत संंयुक्त परियोजना अनुगमन समितिको तेस्रो बैठकमा भारतको सहयोगमा संचालित निजी आवास, विद्यालय, स्वास्थ्य संस्था र सम्पदाहरुको पुनर्निर्माणको प्रगति अवस्थाको मूल्यांकन गरिएको हो ।
 
बैठकका क्रममा भारत सरकारको सहयोगमा निजी आवास पुनर्निर्माणअन्तर्गत गोरखा र नुवाकोटमा ५० हजार घरहरुको पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै बाँकी कार्यहरु समयमै सम्पन्न गर्न समन्वयात्मक ढंगले कार्य गर्ने समझदारी पनि बनेको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारी र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए ।
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तिवारीले पुनर्निर्माणका मूलभूत कार्यहरु सम्पन्न भएको र बाँकी कार्यहरु सम्बन्धित मन्त्रालयहरुमा हस्तान्तरण गरिएको जानकारी दिंदै ती कार्य अगाडि बढाउन उस्तै खालको संरचनालाई निरन्तरता दिइएको जानकारी दिए ।
 
सचिव तिवारीले पुनर्निर्माणका क्रममा प्राप्त सिकाई तथा अनुभव बाँड्न आगामी मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिंदै सम्मेलनमा भारत सरकारको तर्फबाट उच्चस्तरको प्रतिनिधित्वका लागि आग्रह पनि गरे ।
भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीवास्तवले प्राधिकरणको कार्यकालपछि पनि पुनर्निर्माणका कार्य अघि बढाउन भारत सरकारका तर्फबाट उत्तिकै समन्वय हुने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारका तर्फबाट सहभागिता जनाउने आश्वासन दिए ।
 
भूकम्पपछि २०७२ असारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था र सम्पदाहरुको पुनर्निर्माणमा २५ करोड अमेरिकी डलर अनुदान सहयोग र ७५ करोड डलर ऋण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्रतिक्रिया