भर्खरै

विद्युत महशुलदर घट्छ, अब हरेकको भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्नुस् : ऊर्जामन्त्री भुसाल

  • प्रकाशित मिति : बुध, असोज ६, २०७८
  • - शिखर श्रेष्ठ
title

काठमाडौं, असोज । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगको विद्युत् महसुल दर घट्ने भएकोले अब सबैको भान्सामा एलपी ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न अनुरोध गरेकी छन् । 
 
मंंगलबार ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको शुभारम्भ गर्दै मन्त्री भुसालले स्वदेशमा नै उत्पादित विद्युतको उपभोग गरी लाभान्वित हुन आग्रह गरेकी हुन् । ललितपुरको थेँचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इन्स्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ भएको छ । 
कार्यक्रममा बोल्दै उनले नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुने बताउँदै आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गरे । 
 
समृद्धिका लागि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको काम गरिरहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युतमा सहुलियत दिने निर्णयले जनताले राहत पाउने विश्वास रहेको जानकारी दिए । 
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसका लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।
 
नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताए ।
 यस्तै नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँ शहरसम्म सेवा दिने बताए ।
स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको बताउँदै केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार