भर्खरै

म्याग्दीकोे दरखोला दोस्रो लघु जलविद्युत् परियोजना बाढीले बगायो , ३७८ घरधुरीले विद्युत् सेवाबाट वञ्चित

  • प्रकाशित मिति : सोम, भदौ २१, २०७८
  • - विद्युत संसार
title

म्याग्दी, भदौ । गएराति देखि निरन्तर रुपमा परेको अविरल वर्षाले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । 
 
अविरल वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युतको विद्युतगृह नै बगाएको हो ।
 
बाढी र पहिले विद्युतगृह नै बगाउँदा ३७८ घरधुरीले विद्युत् सेवाबाट वञ्चित भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका अनुसार विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्यु्तगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि रु एक करोड ५२ लाखको लागतमा पुनःनिर्माण गरेको थियो । दुई वर्षअघि मात्र पुनःनिर्माण गरिएको उक्त परियोजना बगाउँदा करिब रु एक करोड ५० लाख बढीको क्षति भएको छ ।
 
मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युतगृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पु¥याएको छ । लघु जलविद्युतको विद्युतगृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीयको भनाई छ । 
 
“यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने अध्यक्ष पुनको भनाई छ । बाढीले लघु जलविद्युतमा पु¥याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि निरीक्षण गर्न खटिएको छ । 
 
लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयवासीले यस परियोजनाबाट लाभान्वित भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८५ लाख र धवलागिरि गाउँपालिकाले रु ५० लाख सहयोगमा स्थानीयवासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनःनिर्माण गरेको अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया