मोरङ इलेक्ट्रिक संघको अध्यक्षमा पोखरेल निर्वाचित
- प्रकाशित मिति : शुक्र, भदौ ११, २०७८
- - विद्युत संसार संवाददाता
मोरङ, भदौ । मोरङ इलेक्ट्रिक संघको अध्यक्षमा शंकर प्रसाद पोखरेल निर्वाचित भएका छन् ।
गत शनिबार विराटनगरको सत्यनारायण मन्दिर मेनरोडको आफ्नै कार्यालयमा भएको संघको एघारौं र बाहौं साधारण सभा तथा ६ औं अधिवेशनबाट संघको अध्यक्षमा पोखरेल निर्वाचित भएका हुन् ।
अधिवेशनमा अध्यक्ष, द्धितिय उपाध्यक्ष र सदस्यहरुका लागि निर्वाचन भएको र बाँकी पदहरुमा सर्वसम्मत निर्वाचित भएको संघका अध्यक्ष नवीन अग्रवालले बताए ।
अध्यक्ष अग्रवालका अनुसार अध्यक्ष र उपाध्यक्ष पदमा दुई–दुई जनाको उम्मेदवारी परेकोमा अध्यक्षका प्रत्यासी उकेश अग्रवाललाई पछि पार्दै पोखरेल विजयी भएका छन् भने द्धितिय उपाध्यक्षका प्रत्यासी विनिता दाहाललाई पछि पारेर कैलाश विश्वास निर्वाचित भएका छन् । छैठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा शंकर प्रसाद पोखरेल, प्रथम उपाध्यक्षमा राजेश अग्रवाल,द्धितिय उपाध्यक्षमा कैलाश विश्वास, महासचिव विजय जयसवाल, सचिव अच्युत गौतम, कोषाध्यक्षमा ज्ञान राज निरौला निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा चन्दन कुमार रौनियार, गौरव वंग, साहिल अग्रवाल, कुनाल नागोरी,नवीव खनाल, राजन घिमिरे, अविन पोखरेल, विमल बुढाथोकी र काशिन्द्र प्रसाद गुप्ता निर्वाचित भएका छन् ।
संघले स्थापनाकालको समयदेखि नै विराटनगर भित्र रहेका विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गदै विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग लगायतका कार्यहरु गर्दै आइरहेको छ । संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
संघको साधारण सभा तथा अधिवेशन कार्यक्रममा सामाजिक उत्तरदायित्वको हिसाबले कोरोना तथा क्यान्सर पीडित केही व्यक्तिहरुलाई आर्थिक सहयोग समेत गरिएको अध्यक्ष अग्रवालले विद्युत संसारसँगको कुराकानीमा बताए ।
यस्तै कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक, विधान संशोधन पारित, संघका सदस्यहरुलाई सहयोग हुने गरी वार्षिक २ जनालाई एकल घर स्वास्थ्य बीमा योजना परिचालन, संघको कार्यबाट प्रभावित भई हरेक वर्ष अन्य ५ वटा बीमा गरिदिने घोषणा लगायतका निर्णयहरु सभाबाट पारित भएको संघले जनाएको छ ।
कार्यक्रममा संघका ८३ भन्दा बढी विद्युतीय व्यवसायीहरु उपस्थित रहेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पदग्रहण गर्न भने बाँकी रहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।