भर्खरै

प्राधिकरणको म्याद अब थप नहुने, पुनर्निर्माणका बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण गर्दै प्राधिकरण

  • प्रकाशित मिति : बिही, भदौ १०, २०७८
  • - विद्युत संसार
title

काठमाडौं ९ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण हुने भएको छ ।
प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २० औं बैठकले निजी आवास लगायतका कार्यहरुको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो ।  
 
निर्णय अनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको कार्य सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ । यस विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत संचालित गुम्बाहरुको पुनर्निर्माणको जिम्मेवारी पनि लिनेछ ।
 
त्यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यहरु एवं प्राधिकरणको संस्थागत स्मरणको व्यवस्थापन र पुनर्निर्माण तथा पुनस्र्थापनामा बाँकी रहेका कार्यहरुको कानुनी एवं नीतिगत व्यवस्था तथा समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी कार्यहरु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ ।
विद्यालय तथा विश्वविद्यालयका भवन पुनर्निर्माणका कामहरु शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईहरुबाट सम्पादन हुनेछन् ।  
 
पुरातात्विक सम्पदाहरु र निर्माण सुरु नभएका एक सय वर्षभन्दा पुराना गुम्वाहरुको पुनर्निर्माण पुरातत्व विभागले गर्नेछ ।
सडक तथा पुलहरु एवं शहरी विकास मन्त्रालय तथा पुरातत्व विभागले हेर्ने बाहेकका गुम्वाहरुको पुर्ननिर्माण गुम्वा व्यवस्थापन समितिको समन्वयमा स्थानीय पूर्वाधार विभागले गर्नेछ ।
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय संरचनामा रहने सानो संख्याको जनशक्तिले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारलगायतका संरचनाहरुको पुनर्निर्माण तथा लेखा परीक्षण जस्ता कार्यहरु गर्नेछ । त्यसैगरी, हस्तान्तरण गर्ने कामहरुको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका कामहरु पनि सम्पादन गर्नेछ ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका क्रममा हासिल गरेका उपलब्धिहरु सन्तोषजनक भएकोमा खुशी व्यक्त गर्दै प्राधिकरणलाई धन्यवाद दिए ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताका तर्फबाट उपस्थित एमाले स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले हालसम्म प्राप्त उपलब्धिका लागि प्राधिकरणलाई बधाई दिए । साथै, संभव भएसम्म प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणालीलाई निरन्तरता दिएर काम गर्न उपर्युक्त हुने धारणा राखेका थिए ।
बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको पछिल्लो अवस्था र बहिर्गमन कार्ययोजना सम्बन्धी प्रस्तुतीकरण राखेका थिए ।
 
त्यसक्रममा ज्ञवालीले प्राधिकरणका तर्फबाट हस्तान्तरणका तीनवटा विकल्पहरु राखेका थिए। पहिलो विकल्पमा विद्यमान प्राविधिक जनशक्तिलाई निरन्तरता दिएर यथावत रुपमा कार्यसंचालन गर्ने र प्राधिकरणको अवधिपछि हस्तान्तरण गर्ने थियो भने दोस्रो विकल्पमा जनशक्तिको संख्या कम गरेर प्राधिकरणको अवधिसम्म कार्य गर्ने र त्यसपछि हस्तान्तरण गर्ने प्रस्ताव थियो ।
 
तेस्रो विकल्पमा बाँकी रहेका कामहरु तत्कालै हस्तान्तरण गर्ने भएमा सम्बन्धित निकायमा जनशक्ति र संगठन संरचनाको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । यो विकल्पमा जाँदा दातृ निकायसँग गरेको सम्झौता अनुसार करिब १२ अर्ब रुपैयाँ प्राप्त हुने कुरा तथा कमजोर वर्गका लाभग्राहीको घर निर्माणमा विशेष प्राविधिक सहयोग उपलब्ध गराउने प्रबन्धमा जोखिम बढ्न सक्ने संभावना पनि औंल्याइएको छ ।
 
यद्यपि, बैठकले यी जोखिम लिएरै भए पनि तेस्रो विकल्पमा जाने निर्णय गरेको छ ।  
सहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहले निजी आवास पुनर्निर्माणलगायतका हस्तान्तरण भएर आउने जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्रालयका सचिव मधु कुमार मरासिनीले आर्थिक वर्षको सुरुवातमै बाँकी कामहरु हस्तान्तरण गर्दा बजेट व्यवस्थापन लगायतमा सहज हुने धारणा राखे ।
 
बैठकमा गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, मुख्यसचिव शंकरदास बैरागी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, निर्देशक समितिका सदस्यहरु, पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय तथा आयोगका सचिवहरु, प्राधिकरणका कार्यकारी समिति सदस्यहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया