भर्खरै

विद्युत् प्राधिकरणको नाफा घटेर ३ अर्ब ५१ करोडमा सीमित,आयातित बिजुली बढ्यो

  • प्रकाशित मिति : मंगल, भदौ १, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौं । नेपाल विद्युत प्राधिकरणको खुद मुनाफा घटेर ३ अर्ब ५१ करोड रुपैंयामा सीमित भएको छ । नेपाल विद्युत् प्राधिकरणको गत वर्षको खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ बाट ६९.९४ प्रतिशतले घटेर ३ अर्ब ५१ करोडमा सीमित भएको हो । 
 
आज मंगलबार प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा प्राधिकरणका सबैजसो सकारात्मक सूचकमा कमी आएको छ । 
गत आर्थिक वर्ष २०७७/७८ मा उसको खुद मुनाफा ३ अर्ब ५१ करोड रुपैयाँ भएको छ भने अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो । 
गत वर्ष प्राधिकरणले ७१ अर्ब २८ करोड रुपैयाँको बिजुली बिक्री गरेको थियो । अघिल्लो वर्ष विद्युत् बिक्री वापत प्राधिकरणले ७६ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ६.५९ प्रतिशतले कमी हो । 
प्राधिकरणको सञ्चालन खर्चमा वृद्धि, चुहावट बढ्नु, भारतबाट विद्युत आयात बढ्नु, सरकारले कोभिड १९ का नाममा विभिन्न वर्ग र क्षेत्रलाई दिएको छूट तथा सहुलियत लगायतका कारण नाफा घट्न गएको प्राधिकरणले जनाएको छ ।  
 
२०७७/०७८मा प्राधिकरणको सञ्चालन खर्च १०.९६ प्रतिशतले बढ्न गएको तथ्यांकले देखाएको छ । आ.व. २०७६/७७ मा सञ्चालन खर्च ६१ अर्ब ८७ करोड रहेकोमा गत वर्ष ६८ अर्ब ४५ करोड रुपैयाँ थियो । 
यसवर्ष ऊर्जा मन्त्री पम्फा भुसालले गरिब तथा विपन्न वर्गका जनतालाई २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क र धेरै बिजुली खपत गराउनेलाई कम शुल्क लिने घोषणा गरिसकेकी छिन् । मन्त्रीको यस निर्णयले प्राधिकरणलार्ई  थप डेढ अर्ब रुपैयाँ नोक्सान पर्ने देखिन्छ । 
 
प्राधिकरणले आफ्नो कूल आम्दानीको ५८.८३ प्रतिशत विद्युत् खरिदमा खर्च गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष विद्युत् खरिदमा १०.०५ प्रतिशतले खर्च बढ्न गएको छ । 
प्राधिकरणले विद्युत् खरिद वापत गत वर्ष २०७७/७८ मा ४१ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो वर्षभन्दा यस्तो खर्च १८.०५ प्रतिशत बढी हो 
 
गत वर्ष नेपाल विद्युत प्राधिकरणले भारतबाट २ अर्ब ८२ करोड युनिट बिजुली आयात गरेको थियो । यो परिमाण अघिल्लो वर्षको तुलनामा ६३.४५ प्रतिशतले बढी हो । गत वर्षको हिउँदयाममा खोलामा अत्यधिक पानी सुक्न गई स्वदेशको उत्पादन अत्यन्त न्यून भएको थियो भने तराई क्षेत्रमा विद्युत् माग अकाशिएको थियो । 
गत वर्ष प्राधिकरणको आफ्नै जलविद्युत् गृहबाट भने २ अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भएको थियो । अघिल्लो वर्ष भने तीन अर्ब २ करोड युनिट उत्पादन थियो । 
 
प्राधिकरणले निजी क्षेत्र, भारत र आफ्नै गरी गत वर्ष उसको प्रणालीमा उपलब्ध विद्युत् ८ अर्ब ८७ करोड युनिट थियो । यो अघिल्लो वर्षको भन्दा १४.६८ प्रतिशत बढी हो । प्राधिकरण प्रणाली उपलब्ध कूल ऊर्जामध्ये उसको आफ्नै ३१.६६, निजी क्षेत्रको ३१.८३ र भारतबाट आयातीतको अंश ३६.५१ प्रतिशत छ । 
 
गत वर्ष प्राधिकरणले ७ अर्ब ३१ करोड ९० लाख युनिट बिजुली बिक्री ग¥यो । यो परिमाण अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । विद्युत् चुहावट गत वर्ष १.९१ प्रतिशतले वृद्धि हुन पुगी कूल प्रणालीमा १७.१८ प्रतिशत कायम हुन पुग्यो । अघिल्लो वर्ष कूल विद्युत् चुहावट जम्मा १५.२७ प्रतिशत थियो ।
 प्रणालीमा उपलब्ध कूल विद्युतमध्ये १.९१ प्रतिशत चुहावट हुँदा झन्डै १७ करोड युनिट बिजुली नोक्सान हुन पुग्यो । यसबाट प्राधिकरणले औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ मान्ने हो भने एक अर्ब ७० करोड रुपैयाँले नाफा घटेको देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago