भर्खरै

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

  • प्रकाशित मिति : आइत, साउन ३१, २०७८
  • - रासस
title

काठमाडौँ, ३१ साउन । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।
 
नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ शेयरको कारोबार हुँदै आएको छ । गत बिहीबारको कारोबार हेर्ने हो भने कूल कारोबार रकमको ३१ प्रतिशत हिस्सा यस क्षेत्रको छ । त्यस दिन रु १७ अर्ब ५० करोडको कूल कारोबार भएको थियो । त्यसमध्ये जलविद्युत् क्षेत्रको रु पाँच अर्ब ५० करोड बराबरको शेयर कारोबार भएको थियो । बिहीबार सबैभन्दा बढी न्यादी हाइड्रोको शेयर रु एक हजार ३४४ मा कारोबार भयो भने सबैभन्दा कम खानीखोलाको रु ३८० मूल्यमा कारोबार भएको थियो ।
 
जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक चलखेल भएको साधारण लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ऋण तिर्न नसक्ने, प्रतिशेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको शेयरमा उछाल आएको तर त्यसप्रति नियमन निकायले कुनै चासो नदेखाएको भन्दै मन्त्रालयमा सर्वसाधारणको गुनासो आउने गरेको छ । पछिल्लो दुई सातादेखि दैनिकजसो मन्त्रालयमा गुनासो आउने गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
 
हुन पनि बजारको कारोबार र शेयर मूल्यको अवस्था हेर्ने हो भने चिलिमे, बुटवल हाइड्रोपावरलगायत कम्पनीको शेयर त्यस्तो आकर्षक देखिएको छैन तर अन्य कम्पनीको मूल्यमा अस्वाभाविकरूपमा बढेको देखिएको छ । पछिल्लो समय डेभलपरको विश्वसनीयता, पानीको बहाव (हाइड्रोलोजी), भौगर्भिक अवस्थाको आधार मानेर भन्दा पनि हल्लाको भरमा शेयर कारोबार भएको जानकार बताउँछन् ।
 
प्रसारण संरचना, वार्षिक ऊर्जा उत्पादन, तीन वर्षसम्मको खर्च तथा आम्दानी, आयोजनाले प्रभावित क्षेत्रका जनतालाई कतिको विश्वस्त पारेको छ, नियमित साधारणसभा गरेको छ कि छैन भन्नेजस्ता साधारण सूचकको मूल्याङ्कनबिनै शेयरमा हुने चलखेलका विषयमा नियमन निकायले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ ।
 
नियमन प्रभावकारी किन भएन ?

निरन्तर गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् नियमन आयोगका पदाधिकारीलाई मन्त्रालय बोलाएर सोबारे जानकारी लिनुभएको छ । उहाँले सर्वसाधारण लगानीकर्ता मर्काका पर्न नहुने भन्दै त्यसबारे आफ्नो जिम्मेवारी निर्वाह गर्न आयोगलाई आग्रह गर्नुभएको छ ।
 
जलविद्युत् कम्पनीमा अनावश्यकरूपमा चलखेल गरी अप्राकृतिकरूपमा शेयरको मूल्य बढाई सर्वसाधारण लगानीकर्तालाई जोखिममा पार्ने तथा वास्तविक प्रवद्र्धक ओझेलमा पर्ने स्थिति उत्पन्न नहुने वातावरण बनाउन उहाँले आग्रह गर्नुभएको हो । मन्त्री भुसालले जलविद्युत्को विकासमा जनताको लगानीको प्रतिफललाई सुनिश्चित गर्न तथा स्वस्थ पूँजीको निर्माण गरी सक्षम जलविद्युत् उत्पादन कम्पनीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
 
लकिङ खुलेपछि छाडा

विद्युत् नियमन आयोग ऐन, २०६४ र नियमावली, २०७५ अनुसार जलविद्युत् डेभलपरले साधारण शेयर जारी भएको तीन वर्षपछि आफ्नो शेयर बिक्री गर्न पाउँछन् । तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले शेयर मूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा राइट शेयर र बोनस शेयरको हल्ला चलाउने, आपसी सहमतिमा कारोबार गर्ने तथा शेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको सर्वसाधारण लगानीकर्ताको बुझाइ छ ।
 
बजार प्रभावित गरे कारबाही

बैंकको ऋणसमेत नियमित गर्न नसक्ने आयोजनाको शेयर निरन्तर ‘बुलिस’ हुने गरेको अवस्थाबारे विद्युत् नियमन आयोगले नियमन गर्दै आएको छ । जलविद्युत् कम्पनीका लगानीकर्ताले आपसी मिलेमतो गर्ने र आफैँ किन्ने तथा सोही समूहका व्यक्तिले अर्को ब्रोकरबाट खरिद गर्दा सर्वसाधारण लगानीकर्ता मारमा पर्ने गरेको गुनासोबारे आयोगका प्रवक्ता डा रामप्रसाद धितालले कानुनअनुसार नियमन भएको दाबी गर्नुभयो । उहाँले विद्युत् नियमन आयोग ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले बजारको वास्तविकता बुझेर मात्र शेयर खरिद तथा बिक्री गर्न सर्वसाधारण लगानीकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago