भर्खरै

चार्जिङ स्टेशनका लागि जग्गा

  • प्रकाशित मिति : बिही, साउन १४, २०७८
  • - रासस
title

मकवानपुर, १४ साउन । वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौ उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । 
आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौँडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौँको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौँडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।
 
यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिए ।
 
आगामी भदौ मसान्तभित्रमा काठमाडौँलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ । विद्युतीय बस सञ्चालनका बोलपत्र आह्वान गरिएकामा अहिले दुईवटा अन्तर्राष्ट्रियस्तरको बोलपत्र दर्ता भएको र  हाल बोलपत्रको मूल्याङ्कन  भइरहेको बोर्डका कार्यकारी निर्देशक ढुङ्गानाले राससलाई बताए ।उनका अनुसार सरकारी निकायसँग  समन्वय गरेर विद्युतीय बस खरीद  प्रक्रियालाई पारदर्शी र निष्पक्षताका साथ सार्वजनिकरण गरिनेछ । 
 
तीसवटा बस खरिद गरिनेमा २० वटा काठमाडौँ उपत्यकामा र १० वटा उपत्यकाबाहिर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।सर्वसाधारणले उक्त बसमा यात्रा गर्दा ज्यादै न्यून भाड तिनुपर्ने जनाइएको छ । 

प्रतिक्रिया