भर्खरै

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

  • प्रकाशित मिति : बुध, साउन ६, २०७८
  • - सञ्चिता घिमिरे /रासस
title

काठमाडौँ, ६ साउन । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्ति लगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
 
हिजो आज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ । उनले भने, “पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने हो ।”
 
भारत सरकारले नेपाल सरकारलाई रेल सञ्चालनका लागि बनाएको सबै संरचना हस्तान्तरण गर्ने महाप्रबन्धक भट्टराईले बताउनुभयो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका रेलको ट्र्याक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायतका सामग्री विधिवत् हस्तान्तरण हुनेछ । दुई देशबीच रेल सञ्चालनका लागि आवश्यक पर्ने अरु कागजात आदानप्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । भारतको सरकारी कम्पनीसँग गरेको समझदारीको कागजात पनि आदानप्रदान गर्न बाँकी छ । उनले भने, “यी तीनवटै विषयमा कागजात आदानप्रदान गर्ने कार्यक्रम थियो, सरकार परिवर्तनले गर्दा केही दिन ढिला भएको छ ।”
 
कम्पनीले रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पनि तयारी गरेको छ । रेल सञ्चालनमा संलग्न जनशक्तिलाई तालिम दिइएको कम्पनीले जनाएको छ । तीन जना भारतीयले तालिम दिएका थिए भने पाँच÷छ जना भारतीय एक÷दुई दिनभित्र ल्याउन लागिएको छ । अब आउन लागेका व्यक्तिले रेलको संरचनाका बारेमा र सञ्चालन खाकाका बारेमा जानकारी गराउने उनले बताए । उनले भने, “कसको जिम्मेवारी के हो र कसरी गर्ने भनी बुझाउने काम हुनेछ ।”
 
रेल सञ्चालनका लागि आवश्यक परीक्षण सकिएको छ । ‘ट्रायल ट्र्याक टेस्ट’ भइसकेको महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार ट्र्याक, सिग्नल काम गरे÷नगरेको हेरिएको छ । रेल सञ्चालन गर्नुभन्दा पहिले ट्र्याकमा सवारी साधन ल्याएर ठीक छ÷छैन हेर्नुपर्ने उनले बताए । ट्र्याकमा समस्या छ÷छैन भनी त्यसमा सवारी साधन दौडाएर हेरेर मात्रै जानकारी हुने उनले बताए । परीक्षणका क्रममा ‘एलाइनमेन्ट’ तलमाथि छ कि भनेर हेरिएको थियो । रेल सञ्चालनका लागि ट्र्याक उपयुक्त छ भनेर प्रमाणीकरण गर्नुपर्नेमा त्यो काम भइसकेको उहाँले जानकारी दिए ।
 
एक वर्षयता रेल सञ्चालनका विषयमा सरकारले पटक–पटक भारत सरकारसँग कुराकानी गरिरहेको छ । भारतीय पक्षले नेपालमा छिटो सञ्चालन होस् भनी घच्घच्याइरहेको कम्पनीले जनाएको छ । अहिले कोभिड सङ्क्रमणको त्रास भए पनि भारततर्फ जयनगरसम्म जानका लागि बाधा नहुने उनले बताए । अरु सार्वजनिक सवारी साधन चलिरहेकाले रेल पनि आपसी छलफलपछि चलाउन सकिने उनले बताए । त्यसका लागि दुई देशका सरकारको तहबाट निर्णय गर्नुपर्छ । अहिले तत्कालका लागि जयनगर–जनकपुर चलाउने भन्ने छलफल भइरहेको छ । रेल चलेपछि नेपालबाट भारत र भारतबाट नेपाल दुवैतर्फ नै आवतजावत हुनेछ । उनले भने, “त्यसैले पनि दुवै देशका प्रतिनिधि बसेर छलफल गरेर टुङ्ग्याउनुपर्छ ।”
 
राष्ट्रपति विद्यादेवी भण्डारीले केही समय पहिले रेलसम्बन्धी अध्यादेश स्वीकृत गरेकी थिईन। अध्यादेश आएको ६० दिनभित्र संसद्मा पेश गर्नुपर्ने व्यवस्थानुसार अहिले त्यो पेश भइसकेको छ । प्रतिनिधिसभा विघटन हुनुपूर्व पनि संसद्मा रेलसम्बन्धी अध्यादेश संसद्मा पेश भएको थियो । सोही विधेयक नै अध्यादेशका रूपमा सरकारले ल्याएको थियो । अहिले पुनः संसद्मा टेबुल भएकाले त्यसलाई अघि बढाउनुपर्ने महाप्रबन्धक भट्टराईले बताए ।
 
कम्पनीले रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका जनशक्ति तयार गरिसकेको छ । त्यसमा नेपाली र भारतीय गरी दुवै किसिमका जनशक्ति छन् । नेपालमा रेल सञ्चालनको अनुभव भएका जनशक्ति नभएकाले भारतबाट करारमा जनशक्ति ल्याइएको हो । अहिले आवश्यकतानुसार जनशक्ति आएर तालिम दिइएको उनले बताए । अहिले तत्कालका लागि आवश्यक केही भारतीय तत्काल आउने र बाँकी चालक दलका सदस्यहरु रेल चलाउने मिति तय हुनासाथ आउनेछन् । कम्पनीमा २०० नेपाली र २६ भारतीय कर्मचारी रहने जनाइएको छ । 
 
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँचवटा रेलमार्ग अघि बढाइने सहमति भएको थियो । त्यसमध्ये सबैभन्दा पहिले जयनगर–कुर्था निर्माण भइसकेको छ । कुर्थाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण पनि अघि बढेको छ । जयनगर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले गत आवमा भारतीय सरकारी कम्पनीसँग रेल सेट खरिद गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 10 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago