भर्खरै

तत्काल बुढीगण्डकी आयोजना अघि बढाउन अर्थमन्त्री शर्मासँग प्रभावित बासिन्दाको आग्रह

  • प्रकाशित मिति : आइत, साउन ३, २०७८
  • - रुद्रकुमारी श्रेष्ठ
title

काठमाडौं, साउन । गोरखा र धादिङ जिल्लाको सिमामा पर्ने १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावित क्षेत्र गोरखा र धादिङका जनप्रतिनिधिसहितका स्थानीयले आग्रह  गरेका छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको यस आयोजनामा थप अन्योलता बढ्दै गएपछि आइतबार सिंहदरबारमा प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्दै आयोजना तत्काल अघि बढाउन अर्थमन्त्री शर्मालाई आग्रह गरेका हुन् । 
अर्थमन्त्रीको ध्यानकर्षण गराउन पुगेका जनप्रतिनिधिसहितका सरोकारवालाहरूले बूढीगण्डकी आयोजनाले  मुआब्जा वितरणमा हसकट्टी गरेको विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
 हसकट्टीको निर्णय  खारेज नगरिए प्रभावित क्षेत्रका बासिन्दा थप मारमा पर्ने भन्दै यो समस्याको समाधान तत्काल हुनुपर्ने प्रभावित क्षेत्रका स्थानीयहरुको माग रहेको छ । 
 
प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले मुआब्जाको विषयमा कतिपय द्विविधा अझैपनि कायम रहेकोले समस्या समाधान गरिनुपर्नेमा जोड दिदैं हसकट्टाको निर्णय जनतामारा रहेको उनले बताए । यस विषयमा अर्थमन्त्रीले जनताको पक्षमा निर्णय लिएर काम गर्नुपर्ने उनको भनाई छ । 
 
यसैगरी सांसद जगत सिंखडाले पहिला पनि देउवा सरकारले स्वदेशी लगानीमा आयोजना बनाउने निर्णय गरेको र अर्थमन्त्रीको पनि ऊर्जा मन्त्री हुँदा यसमा उल्लेखनीय भूमिका रहेको स्मरण गर्दै फेरि अर्थमन्त्रीले पहल लिनुपर्ने बेला आएको बताए । 
 
स्थानीय तथा सरोकारवालाहरुको प्रश्नको जवाफमा अर्थमन्त्री शर्माले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको मागप्रति आफू सकारात्मक रहेको भन्दै यो विषयमा १५ दिनभित्र जनताको पक्षमा सकारात्मक निर्णय लिने बताए । 

प्रतिक्रिया