भर्खरै

मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन

  • प्रकाशित मिति : आइत, जेठ १६, २०७८
  • - रासस
title

तनहुँ, १६ जेठ । जिल्लाको आँबुखैरेनी–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ । गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो ।
 
सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हुदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इलोट्रिकल्स सुपरभाइजर शिवराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले  पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको छ । लामो समय खडेरी हुँदा विद्युत् उत्पादन घटे पनि हालको वर्षाका कारण विद्युत् उत्पादनमा वृद्वि भएको केन्द्रले जनाएको छ । 
 
विद्युत् उत्पादन बढेपछि नेपाल विद्युत् प्राधिकरणको मागबमोजिम आपूर्तिमा सहयोग पुगेको छ । सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नु पर्ने वाध्यता रहेको छ । 
 
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्पmत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

प्रतिक्रिया