भर्खरै

समन्वय नहुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध, अनलाइनमा अध्ययनरत हजारौँ विद्यार्थी प्रभावित

  • प्रकाशित मिति : शुक्र, बैशाख १७, २०७८
  • - रासस
title

काठमाडौँ, १७ वैशाख । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । 
 
नगरपालिकाको वडा नं. ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । खानेपानीले पाइप मर्मत गर्ने क्रममा खाल्डो खनेर पाइप मर्मत गर्दा समन्वय नगरेकाले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख खगेन्द्र कटुवालले राससलाई जानकारी दिए ।
 
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण दर उच्च भएर निषेधाज्ञा जारी भएकै दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइनबाट अध्ययन गरिरहेका हजारौँ विद्यार्थी एवं घरबाटै काम गरिरहेका मानिस प्रभावित भएका छन् । वडा नं। १, २, ३ र ४ का सबै टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । करिब एक हजार ५०० टेलिफोन र एक हजार १०० को सङ्ख्यामा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ । 
 
टेलिकमको टेलिफोन र इन्टरनेट सेवा लिइरहेका स्थानीयवासी रामचन्द्र भण्डारी सरकारी कम्पनी डुबाउने उद्देश्यले महिनामा दुईदेखि तीन पटकसम्म सेवा अवरुद्ध हुने गरेको बताउछन् । निजी इन्टरनेट सेवा प्रदायकलाई पोस्न सरकारी कम्पनीको सेवा अवरुद्ध गराउन मिलेमतो हुने गरेको उहाँको आरोप छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई दैनिक तीन पटकसम्म फोन गरी आफूतिर तान्ने प्रयास गर्ने गरेका छन् ।
 
समन्वयमा काम गरी ग्राहकलाई दुःख नदिन पटकपटक आग्रह गर्दा पनि कार्यान्वयन नभएको वडा नं। ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ बताउछन् । समन्वयमा काम गर्न भनी लिमिटेड महाङ्कालचौर शाखाका कार्यालय प्रमुखले फोन नउठाउने गरेको उहाँको गुनासो छ । बिहीबार बिहानदेखि अवरुद्ध भएको सेवा अझै शुरु हुन सकेको छैन ।
 
लिमिटेड महाङ्कालचौर शाखाका प्रमुख उमेश मरहट्ठा टेलिकमले तार मर्मत गर्न सडक खन्ने क्रममा खानेपानीको पाइप पनि बिग्रने गरेको आरोप लगाए । सरकारी कार्यालयले एकार्कालाई आरोप प्रत्यारोप गरी सेवा अवरुद्ध गर्ने गर्दा हजारौँ उपभोक्ता भने प्रभावित हुने गरेका छन् । निषेधाज्ञाको समयमा विद्यार्थी र कामकाजीलाई प्रभावित पार्ने गरी सेवा अवरुद्ध गरेकामा सेवाग्राही रुष्ट बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago