भर्खरै

इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म विद्युतीकरण

  • प्रकाशित मिति : सोम, बैशाख ६, २०७८
  • - रासस
title

भरतपुर, बैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।
 
इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे, ढुङ्ग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए । “स्थानीयवासीका लागि आवश्यक मिटर प्राधिकरणले उपलब्ध गराउनेछ”, सिंहले विद्युतीकरण शुभारम्भ कार्यक्रममा भने, “सुरक्षित रहेर विद्युत् उपभोग गरौँ र खपत बढाऊँ ।” स्थानीयस्तरमा स्थापना गर्न सकिने कलकारखाना खोल्न आग्रह गर्दै सिंहले त्यसका लागि प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने बताए । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतको सामुदायिक विद्युतीकरण विभागबाट ठेक्का भई विद्युतीकरण सम्पन्न भएको पनि सिंहले जानकारी दिए । उनका अनुसार विद्युतीकरण गरिएको ठाउँमा १००/१०० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरिएको छ ।
 
मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको विद्युतीकरण शुभारम्भ कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेलले गाँउपालिकामा यसै वर्ष विद्युतीकरणको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले सङ्घीय सरकारको तर्फबाट विद्युतीकरणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पालिकाले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।  उनले प्राधिकरणको प्रयासले बिजुली बाल्न सकिएको र यसले गाउँलेको जीवन पद्धतिमा परिवर्तन ल्याउने बताए ।
 
गाउँपालिकाको सामुदायिक क्षेत्रमा पर्ने २, ३ र ५ नम्बर वडामा विद्युतीकरण हुन बाँकी छ । वडा नं २ को काउलेमा विद्युतीकरणका लागि ठेक्का भई काम भइरहेको सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तोबाड, वडा नम्बर ७ को सिराइचुली, ज्यानडाला, चण्डीभञ्ज्याङको ताल्ची, तुल्चेलगायत क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ । 
 
यस्तै, वडा नं २ का केही ठाउँ तथा ३ र ४ नम्बर वडा केही ठाँउमा पनि विद्युतीकरण हुन बाँकी छ । सो क्षेत्रमा पिछडिएको समुदाय चेपाङ तथा गुरुङ, मगरलगागत जातजातिको बसोबास रहेको छ । शुभारम्भ कार्यक्रममा विभिन्न राजनीतिक दलका गाउँ कमिटी अध्यक्षहरू तथा भरतपुर वितरण केन्द्रका प्राविधिकको उपस्थिति थियो ।

प्रतिक्रिया