बैशाख १ गतेदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द
- प्रकाशित मिति : सोम, चैत ३०, २०७७
- - विद्युत संसार संवाददाता
काठमाडौं, चैत । काटमाडौंको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएको छ ।
नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले बैशाख १ गते देखि केहि समयको लागि बन्द हुने भएको हो ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको बताए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रा.लि.ले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।
उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आइरहेका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।
प्रा.लि.का अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । “नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौँ”, उनले भने । प्रा.लि.ले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । प्रा.लि.ले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो ।
ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्कमा एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ ।