भर्खरै

तनहुँ जलविद्युत् आयोजनको पहिलो प्याकेज निर्माणका लागि सम्झौता

  • प्रकाशित मिति : मंगल, चैत १०, २०७७
  • - रासस
title

काठमाडौं, चैत । तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता भएको छ । 
आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना निर्माण कार्यका लागि रु १६ अर्ब ६२ करोडमा खरिद सम्झौता भएको हो । 
 
आयोजनाको पहिलो संरचना निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो । 
सम्झौता पत्रमा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा–कालिका जेभीकातर्फबाट आधिकारिक प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् । कम्पनीसँग रु १६ अर्ब ६२ करोड (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता भएको आयोजनाले जनाएको छ । 
 
ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध–सञ्चालक थिकेले बताए । आयोजनाको प्याकेज–१ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सीएमसी डी राभेना, इटालीसँग २०७५ असोज १५ खरिद सम्झौता रद्द भएपश्चात कम्पनीले २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप २०७६ फागुनमा पुनः दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो । 
 
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेश गर्ने म्याद थप गरिएको थियो ।
 
कूल तीन वटा अन्तर्राष्ट्रिय बोलपत्रदाताले बोलपत्र पेश गरेकोमा  प्राविधिक बोलपत्रको मूल्याङ्कनपश्चात्  सारभूत रुपमा प्रभावग्राही दुई वटा बोलपत्र दाताहरुको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रको मूल्याङ्कनपश्चात न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा–कालिका जेभीको  बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरिएको हो । 
 
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिक तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत् गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ्ग र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ्गको निर्माण कार्य गरिरहेको छ ।
 
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । 

प्रतिक्रिया