भर्खरै

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण

  • प्रकाशित मिति : शुक्र, चैत ६, २०७७
  • - रासस
title

तानसेन, ६ चैत । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।
 
सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न  बिहीबारदेखि सर्वे शुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए । उनले अन्तरराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरुपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताए । 
 
कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख भण्डारीको भनाइ छ ।
 
जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिए । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तरराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए ।  
 
छ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । विसं २०४०÷४१ तिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको  छ । आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको सङ्घीय सांसद दलबहादुर रानाले बताए । काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्रीवितरण लगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ ।

प्रतिक्रिया