भर्खरै

विद्युत प्रणाली सुधार गर्न भारतीय कम्पनीसँग प्रधिकरणले गर्यो ४ अर्बको ठेक्का

  • प्रकाशित मिति : बिही, चैत ५, २०७७
  • - विद्युत संसार
title

काठमाडौँ ५ चैत । प्रदेश नं २ का ८ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले जिम्मा पाएको छ ।
प्राधिकरणले गरेको अन्तराष्ट्रिय टेण्डरबाट बुधबार प्रदेश नं २ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच करिब ४ अर्ब रुपियाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
 
आयोजनाबाट प्रदेश नं २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काम हुनेछ । आयोजना मार्फत प्रदेश नं २ मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरु सहितका ३३/११ केभी, १६.६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने छ । यसैगरी, ३३/११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिने छ । उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ । 
 
यसका साथै प्रदेश नं २का जिल्लाहरुमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने छ । काम सम्पन्नपश्चात प्रदेश नं २ को समग्र विद्युत प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र घरायसी ग्राहकहरुले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने छन् ।
 
आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत संचालित हुनेछ । आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया