बैशाख २८ बाट सुरु हुँदै क्यान इन्फोटेक २०२१

  • प्रकाशित मिति : Mon-15-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यस वर्षको सूचना प्रविधिसम्बन्धी मेला (क्यान इन्फोटेक २०२१) बैशाख २८ बाट सुरु हुने भएको छ । आइतबार महासंघले एक कार्यक्रम गरी मेला काठमाडौंको भृकुटीमण्डपमा बैशाख २८ देखि जेठ २ सम्म सञ्चालन हुने जानकारी दिइएको हो । 
सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गर्दै आइरहेको छ । महासंघको आगामी हुने मेला २७ औं संस्करणको मेला हो । यो सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी देशकै ठूलो प्रदर्शनी हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष कोभिड १९ का कारण ढिलो गरी बैशाख–जेठमा गर्न लागिएको महासंघले जनाएको छ । जनको स्वास्थ्य सुरक्षा र काठमाडौंको स्थानीय प्रशासनले भीडभाड नगर्न गरेको आग्रहका कारण विगतका जस्तो समयमा मेला आयोजना गर्न नसकिएको भन्दै महासंघले कोभिड १९ महामारीका कारण मानिसहरुमा सुचनाप्रविधिप्रति झन् चासो बढेर गएको बताएको छ । 
 
सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । 
 
प्रर्दशनीमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् । 
 
यो प्रर्दशनी सुचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने थलो पनि हुने विश्वास लिएको महासंघले जनाएको छ ।  यस मेलाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्न, ग्राहकका आवश्यकता र रुचि, बजार सर्वेक्षण, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर मिल्ने विश्वास लिएको छ । 
 
क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्बन्धि रोजगार केन्द्र मुख्य हुनेछन् । 
 
प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी  राखिने छ । 
 
त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफ्ट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । 
 
गत वर्ष करिब साढे तीन लाखले अवलोकन गरेको दाबी क्यान महासंघको छ । यस वर्ष पनि सोही अनुपातमा अवलोकन हुने उसको अनुमान छ । मेलाका लागि चैत्र ८ गतेदेखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ समेत खुल्ला हुनेछ ।

प्रतिक्रिया