भर्खरै

बालुवाटारले गर्न थाल्यो विद्युत् प्राधिकरणमा सरुवा

  • प्रकाशित मिति : Mon-15-Mar-2021
  • - Admin
title

काठमाडौँ, चैत । यतिखेर विद्युत् प्राधिकरणको आन्तरिक व्यवस्थापनसमेत बालुवाटारले चलाउन थालेको छ । बालुवाटारको दबाबका कारण प्राधिकरणका हालै मात्र दुईजना कर्मचारीको विवादास्पद सरुवा भएको छ । प्राधिकरणको जनकपुर प्रादेशिक कार्यालय प्रमुखमा ११ तहका चन्द्रशेखर चौधरीलाई पठाइएको छ । जबकी वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत प्रादेशिक कार्यालय प्रमुख इलेक्ट्रिकल इन्जिनियरलाई बनाउने परिपाटी थियो । 
 
चौधरी उत्पादन अन्तर्गतका मेकानिकल इन्जिनियर हुन् । विद्युत्गृह सञ्चालन तथा मर्मतसम्बन्धी उनी प्राधिकरणमा विज्ञ मानिन्छन् । कुनै विद्युतगृहमा प्राविधिक गडबडी आउनेबित्तिकै उत्पादन निर्देशनालयले चौधरीलाई सम्झने गर्छ । ‘विद्युत्गृहका विज्ञलाई प्रदेश कार्यालय प्रमुख बनाउन बालुवाटारको दबाब थियो,’ स्रोतले भन्यो, ‘प्राधिकरण व्यवस्थापन बालुवाटरका अगाडि निरीह बन्यो ।’
 
प्राधिकरणमा आठवटा प्रादेशिक (साविकका क्षेत्रीय) कार्यालय छन् । अहिले पनि सबै क्षेत्रीय वा प्रादेशिक निर्देशकहरु इलेक्ट्रिकल इन्जिनियर छन् । तर चौधरी नै त्यस्तो व्यक्ति परे, जो मेकानिकल भएर पनि इलेक्ट्रिकल क्षेत्रको जिम्मेवारी दिएपछि आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग आपत्ति प्रकट गरेको छ । ‘तर एमडीबाट हामीलाई चित्तबुझ्दो जवाफ आएको छैन,’ आधिकारिक ट्रेड युनियनका एक नेताले आइतबार भने, ‘शक्तिकेन्द्रका अगाडि व्यवस्थापन लाचार भयो ।’
 
बालुवाटारले ११ तहका मेकानिकल इन्जिनियरको मात्र सरुवा गरेन, १० तहको दरबन्दी भएको ठाउँमा नौ तहका कर्मचारीलाई हाकिम बनाएर पनि पठाएको छ । हेटौंडा डिभिजन कार्यालय प्रमुख (१० तह) केदार सिलवाललाई हटाई उनको ठाउँमा नौ तहका शशीभूषण साहलाई पठाइएको छ ।
हेटौंडा डिभिजन कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखहरु पनि नौ तहकै छन् । केन्द्र र अन्य प्रादेशिक कार्यालयमा १० तहका कर्मचारीहरु प्रशस्त भए पनि योग्यता नपुगेका व्यक्तिलाई पनि ‘शक्तिकेन्द्र’ ले नियम मिचेर सरुवा गरेको छ । यो विषयलाई पनि ट्रेडयुनियनहरुले विरोध गरेका छन् ।
 
प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले यी दुवै कर्मचारीको सरुवा भएको स्वीकार गरे । उनले ११ तहको दरबन्दी भएको ठाउँमा जुनसुकै सेवा वा समूहका कर्मचारीलाई पठाउन सकिने भन्दै व्यवस्थापनको सरुवालाई प्रतिरक्षा गरे । भने, ‘११ तहको दरबन्दी हो, मेकानिकल÷इलेक्ट्रिकल छुट्टिंदैन, ११ तहको पठाए भइहाल्छ ।’तिमिल्सिनाले हेटौंडा डिभिजन प्रमुख सरुवा प्रकरणको पनि प्रतिरक्षा प्राधिकरणका अधिकांश कार्यालयमा एक तह मुनि भए पनि जिम्मेवारी दिने चलन रहेको बताए ।
 
‘हेटौंडामा दरबन्दी १० तहको हो,’ उनले भने, ‘अहिले जिम्मेवारी दिने क्रममा तल्लो तहलाई प्रमुख बनाइएको हो । उनका अनुसार आठवटा प्रादेशिक कार्यालयमा चौधरीबाहेक सबै १० तहका छन् । यसरी प्राधिकरणमा दरबन्दीअनुसारको योग्यता नपुगे पनि एक तहको जिम्मेवारी दिनुलाई ‘शक्तिकेन्द्रको निर्देश र दबाब’ का रुपमा लिने गरिएको छ ।
स्रोत : इकागज

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago