भर्खरै

मिस्ट्रीखोलाको उत्पादन यसै हप्तादेखि

  • प्रकाशित मिति : Sun-14-Mar-2021
  • - रासस
title

म्याग्दी, १ चैत । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । 
 
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो । आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युतगृहको परीक्षण सकेर विद्युत् उत्पादनको तयारी गरेको जानकारी दिए ।
 
“दाना सबस्टेशनबाट स्वीचार्डसम्म ब्याकलोडमा प्रसारण लाइनको परीक्षण भइरहेको छ”, उनले भने, “ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने र टर्वाइन घुमाउने तयारीमा छौँ ।” विद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ ।
 
इञ्जिनीयर खड्काले अबको एक हप्तादेखि १० दिनभित्र मिस्ट्रीखोलाले उत्पादन शुरु गर्ने बताए । सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि र घलेम्दीखोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०।५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।
 
बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युतगृह नजिकै स्वीचार्ड निर्माण गरिएको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएका दुईवटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । 
 
बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । एघारमध्ये गत बर्खामा आएको बाढीले एक टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुनःनिर्माण गरिएको हो । रु पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले रु एक अर्ब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् । 
 
यसैगरी आयोजनामा नविल बैंकले रु एक अर्ब, लक्ष्मी बैंकको रु ४० करोड, सिद्धार्थ बैंकको रु ३० करोड र एस डेभलभमेन्ट बैंकको रु ३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सातवटा वडाका बासिन्दालाई १० लाख कित्ता शेयर बाँडफाँट गरिएको छ । साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स ९निर्माण अनुमति० दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सबस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि निर्माण शुरु गरिएको थियो ।
 
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण सकिएको छ । आयोजनाका प्रमुख चन्दनकुमार घोषले मिस्ट्रीखोलाको विद्युत सबस्टेशनमा जोड्न प्रसारण लाइनको परीक्षण शुरु गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 17 hours ago