भर्खरै

१० मेगावाटको सौर्य विद्युत प्रणालीमा जोडियो

  • प्रकाशित मिति : बिही, फागुन १३, २०७७
  • - Admin
title

काठमाडौं, फागुन । धनुषाको ढल्केबरमा निजी क्षेत्रले उत्पादन गरेको १० मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । इको पावर डेभलपमेन्टले निर्माण गरेको मिथिला सौर्य विद्युत आयोजनाको विद्युत ढल्केबर सबस्टेसनमा लगेर जोडिएको हो ।
 
आयोजनाले गत फागुन २ गतेदेखि परीक्षण उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । आयोजनामा साढे ४ मेगावाटका २ वटा र १ मेगावाटको एउटा गरी ३ वटा उत्पादन युनिट छन् । अहिले सबै युनिट सञ्चालनमा आइसकेका छन् ।
२ साताको परीक्षण उत्पादनको अवधि पूरा भएपछि आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गर्नेछ । कम्पनीले ९० करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न गरेको हो । आयोजनामा प्राइम बैंकले ऋण लगानी गरेको छ । आयोजना सञ्चालन हुँदा हिउँदमा भारतबाट हुने विद्युत आयातको परिमाण घटाउन योगदान पुग्ने कम्पनीको दाबी छ ।
 
निर्माण सुरु भएको ६ महिना यो आयोजना सम्पन्न भएको थियो । यो नै निजी लगानीमा निर्माण भएको अहिलेसम्मको ठूलो सौर्य विद्युत आयोजना हो । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।
२२ बिघा क्षेत्रफलमा आयोजनाका उपकरणहरू राखिएको छ । यो आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।
 
आयोजनाबाट दैनिक ६० हजार युनिट विद्युत उत्पादन भइरकेको कम्पनीका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले बताए । उनका अनुसार आयोजनाले मासिक १९ लाख युनिटभन्दा बढी विद्युत उत्पादन गर्न सक्नेछ । यस कम्पनीले अन्य ५ वटा सौर्य विद्युत आयोजनामा पनि काम गरिरहेको छ ।
 
निजी क्षेत्रले सरकारको मिश्रित ऊर्जाको अवधारणाअनुरुप सौर्य ऊर्जामा लगानी गरिरहेको छ । यसअघि रिडी हाइड्रो पावर कम्पनीले साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाको सफल निर्माण गरी प्रणालीमा जोडिसकेको छ । अहिले दर्जनौं सौर्य विद्युत आयोजना निर्माणाधीन छन् । ऊर्जा खबर

प्रतिक्रिया