भर्खरै

बुटवलमा एकसाथ दुई केबलकार

  • प्रकाशित मिति : शुक्र, माघ ३०, २०७७
  • - छवि पाण्डे
title

बुटवल ३० माघ । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ ।
 
लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने केबलकारको शनिबार शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ । सिद्धबाबा केबलकार प्रालिले भने गत सातादेखि नै निर्माणको काम सुरु गरिसकेको छ ।
 
सिद्धबाबा केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले सबै प्रक्रिया पूरा गरी निर्माणको काम सुरु भइसकेको जानकारी दिए। बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा बेस स्टेसन र पाल्पाको नुवाकोटगढीमा अन्तिम स्टेसन रहने जानकारी उनले दिए ।
सिद्धबाबा केबलकारको लम्बाइ एक किलोमिटर ९५ मिटर रहेको र लागत ८० करोड रुपियाँ आकलन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । यो समूहले नुवाकोटमा अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ ।
 
लुम्बिनी केबलकार प्रालिका सञ्चालक तेजबहादुर विश्वकर्माले केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जानकारी दिनुभयो । तीन किलोमिटर लम्बाइ रहेको लुम्बिनी केबलकारको निर्माण लागत तीन अर्ब ५२ करोड रुपियाँ रहेको जानकारी दिँदै उनले केबलकारको अन्तिम स्टेसन पाल्पाको वसन्तपुरमा रिसोर्टसमेत निर्माण गर्ने गरी लागत अनुमान गरिएको बताए ।
 
यसैबीच नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले रुपन्देही र पाल्पा जिल्लाअन्तर्गत उक्त क्षेत्रमा पर्ने ६।२७ हेक्टर वन क्षेत्र प्रयोगको स्वीकृति दिएपछि केबलकार निर्माणको बाटो खुलेको हो । लुम्बिनी केबलकारले २५ वर्षका लागि सो वन क्षेत्र उपयोग गर्न पाउने गरी मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जनाएको हो ।
–गोरखापत्र

प्रतिक्रिया